हेटौंडाः हेटौंडाको २ स्थानमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । हेटौंडा स्कूल अफ मानेजमेन्ट र हेटौंडा अस्पतालमा यही असार २२ र २३ गते दुई दिने शिविर हुने भएको हो ।

हेटौंडा अस्पतालमा बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा शिविर हुन लागेको बताइएको छ । पाठेघर खस्ने तथा सुत्केरीपछि हुने अब्सेट्रेटिक फिस्टुला भएका महिलाहरुका लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको हो । बिहान ८ बजेदेखि हुन लागेको शिविरमा हेटौंडा अस्पतालको सहयोग रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै, हेटौंडा स्कूल अफ मानेजमेन्ट एण्ड सोसल साइन्सको आयोजनामा हुन लागेको शिविरका लागि नाम दर्ता असार १९ देखि सुरु भइसकेको मानेजमेन्टका कर्मचारी कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, मानसिक तथा नशा, हाडजोर्नी, छाला तथा यौनरोग, नाक कान घाँटी, आँखा परीक्षण, ईसीजी, भिडियो एक्सरे, रगत तथा पिसाब परीक्षण, न्युरो सर्जरी र मुटुरोगको निःशुल्क स्वास्थ्य परीक्षण हुनेछ । शिविरमा काठमाडौँ मेडिकल कलेजको सहयोग रहेको र शिविरमा १५–२० जना विशेषज्ञ डाक्टर आउने श्रेष्ठले जानकारी दिनुभयो ।