हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबारदेखि अर्को कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । तरकारी, फलफूल तथा अन्य कृषि उत्पादन बिक्री गर्ने उद्देश्यले हेटौंडा–४ मा नयाँ कृषि तथा तरकारी बजार सञ्चालनमा आएको हो ।

त्रिवेणी भेजिटेबल मार्ट प्रालिद्वारा सञ्चालनमा ल्याइएको हेटौंडा कृषि तथा तरकारी बजारको सोमबार उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपलिकाका प्रमुख मीनाकुमारी लामाले बजारको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा त्रिवेणी भेजिटेबल मार्टका अध्यक्ष अभ्यास भुजेलको सभाध्यक्षता थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले सञ्चालनमा ल्याइएको बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । बजारमा विषाक्त तरकारी कम बिक्री वितरण गर्ने, तरकारी तथा फलफूलमा विषादीजन्य पदार्थहरुको प्रयोग नगर्ने र स्वच्छ तरकारी उत्पादन गर्नुपर्नेमा जोड दिनुभायो । उहाँले युवाहरुले ठूलो लगानी गरेर सञ्चालनमा ल्याएको कृषि बजारलाई कानुनबमोजिम आफूले सक्ने सहयोग गर्ने बताउनुभयो ।

त्रिवेणी भेजिटेबल मार्टका अध्यक्ष भुजेल, सचिव राजीव गोले, कोषाध्यक्ष अजय स्याङ्तान, सदस्यहरु सुरज गोङ्बा लामा र प्रिन्स लामा मिलेर लगभग ३ करोड रुपैयाँ लगानीमा बजार सञ्चालनमा ल्याइएको हो । बजारमा ९० वटा तरकारीको स्टल, ३० वटा गेडागुडी तथा खाद्यान्नको स्टल, २० वटा फलफूलको स्टल, ५ वटा मासुको र ५ वटा खाजाको स्टल रहेको मार्टका सचिव गोलेले जानकारी दिनुभयो । सानो लगानीमा व्यवसाय गर्न चाहनेहरुका लागि यो बजारले ठूलो सहयोग गर्ने सचिव गोलेले बताउनुभयो ।

काम नपाएर युवाहरु विदेशिनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न र बेरोजगारलाई रोजगारी दिने उद्देश्यले कृषि बजार सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । सञ्चालनमा आएको कृषि बजारबाट एक सय ५० जना बेरोजगारहरु स्वरोजगार बन्ने दावी गर्नुभयो ।