प्रतिष्ठानको वार्षिकोत्सव सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेल ।

हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले अघिल्लो सरकारले नियुक्त गरेका करारका कर्मचारीले आवश्यक समन्वय नगरेका कारण प्रतिष्ठान मातहतको हेटौँडा अस्पतालको सेवा प्रवाहमा समस्या भएको बताउनु भएको छ । हेटौँडामा बिहिबार बिहान भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक आस्था प्रेरित भएर असहयोग भइरहेको दावी गर्नुभएको छ ।

कर्मचारीलाई इमान्दार भएर काम गर्न आग्रह गर्नुहुँदै मुख्यमन्त्रीले संघीय सरकारबाट सक्दो सहयोग लिने र प्रदेश सरकारको लगानीमा अस्पतालको विकास गर्ने बताउनुभयो । प्रदेश सरकार स्थापित भएसँगै १३ जिल्लाका अस्पतालहरूमा उल्लेख्य सुधार भएको मुख्यमन्त्री जमकट्टेलको भनाइ छ । प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् प्रतिष्ठानका संस्थापक कुलपति डोरमणि पौडेलले हेटौँडा अस्पतालमा सुधार भइरहेको र अस्पतालको सुधारविरुद्ध माफियाहरु लागीपरेको दावी गर्नुभयो ।

हेटौँडा अस्पतालको आइसीयु कक्षका इन्चार्ज डा. प्रशान्त विडारीलाई सम्मान गरिँदै ।

प्रतिष्ठानका लागि अस्पताल आवश्यक भएका कारण हेटौँडा अस्पताललाई समेटिएको उल्लेख गर्नुहुँदै पौडेलले जिल्ला अस्पतालबाट प्रतिष्ठान मातहतको अस्पताल निर्माण हुँदा धेरै सुधार भएको बताउनुभयो । निजी अस्पतालमा सेवाग्राही घटेर हेटौँडा अस्पतालमा भीड लागेको उहाँको भनाइ थियो । कार्यक्रममा स्वास्थ्य मन्त्री उत्तम जोशी, सामाजिक विकास मन्त्री कुमारी मुक्तानको पनि आतिथ्य रहेको थियो । वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले कर्मचारी, प्राध्यापक, चिकित्सकलाई सम्मान समेत गरेको छ । प्रतिष्ठान र हेटौँडा अस्पतालको अवस्थाका बारेमा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले जानकारी दिनु गराउनुभएको थियो ।

हेटौँडा अस्पतालका कार्यालय सहयोगीलाई सम्मान गरिँदै ।