बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्दाको तस्वीर ।

हेटौंडाः बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा प्रदेश उच्चशिक्षा परिषद्को सचिवालयको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रममा प्रदेश उच्चशिक्षा परिषद् अध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सचिवालयको उद्घाटन गर्नुभएको हो ।

प्रदेश उच्चशिक्षा ऐन बनेको दुई वर्षपछि बागमती प्रदेश सरकारले बुधबार सचिवालयको उद्घाटन गरेको छ । सचिवालय उद्घाटन गर्नुहुँदै परिषद् अध्यक्ष तथा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालयको स्थापना गर्ने जानकारी दिनुभयो । उच्चशिक्षासम्बन्धी नीति तथा रणनीति तयारसँगै विश्वविद्यालय सञ्चालन गरी मार्गनिर्देशन गर्न परिषद्को भूमिका रहने उहाँले बताउनुभयो ।

परिषद्को सचिवालय उद्घाटनपछि आर्थिक सहायता तथा अनुदानका सम्बन्धमा आधारभूत नीति तथा योजना सिफारिस गर्ने, गुणस्तर तथा सुशासनसम्बन्धी मापदण्ड सिफारिस गर्न सहयोग पुग्ने उहाँको धारणा छ । प्रदेश सरकारबाट स्थापना हुने प्रदेश विश्वविद्यालय, प्रदेश सरकारको स्वीकृतिबमोजिम मुनाफा आर्जन नगर्ने सामुदायिक विश्वविद्यालय, मानित विश्वविद्यालय, शैक्षिक उपाधि प्रदान गर्नसक्ने स्वायत्त प्रतिष्ठान उच्च शिक्षण संस्था आंगीक क्याम्पसलाई स्वायत्तता दिने बताउनुभयो ।

प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोड दिने उहाँले बताउनुभयो । सार्वजनिक विश्वविद्यालय स्थापना र प्रदेशभित्र कस्तो शिक्षा भित्राउने भन्ने कुरा परिषद्को हातमा हुने उहाँले जानकारी दिनुभयो । समृद्ध बागमती प्रदेश बनाउन शिक्षा क्षेत्रलाई जोड दिनुपर्ने र हचुवाको भरमा जथाभावी प्रदेश सरकारले स्वीकृती नदिनेसमेत दावी मुख्यमन्त्री जम्कट्टेलले गर्नुभयो ।

सामाजिक विकास मन्त्रालयका शिक्षा विकास महाशाखा प्रमुख खुबिराम अधिकारीले प्रदेश उच्चशिक्षा ऐन प्रमाणीकरण २०७८ चैत्र १४ गते भएको बताउनुभयो । बागमती प्रदेश सरकारका मुख्यसचिव मुकुन्द निरौलाले मुख्यमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय परिषद् समिति रहने व्यवस्था रहेको जानकारी दिनुभयो । परिषद्की उपाध्यक्ष तथा सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको हो ।