सामुहिक तस्बीर खिचाउँदै ।

हेटौंंडाः मकवानपुरको बकैया गाउँपालिकाले १३ औं राष्ट्रपति रनिङशिल्ड राष्ट्रिय प्रतियोगिता र दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ । आइतबार गाउँसभाको अवसरमा पालिकाका १२ जना खेलाडीलाई सम्मान गरिएको बकैया खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले जानकारी दिनुभयो ।

सम्मानित हुनेमा एथलेटिक्सतर्फ आयुष नेगी, सुमन योञ्जन, सुजन राई, जिकेश सापकोटा, सन्तोष गौतम र पाण्डब राई रहेका छन् । यस्तै, फुटबल खेलाडीहरु सुजन गुरुङ र अभिषेक भोलन रहेका छन् । कबड्डी खेलाडी रोमन घलान, कराँते खेलाडी राज भोलन र दीक्षा कार्की सम्मानित भएका छन् ।
एथलेटिक्स प्रशिक्षक भरतप्रसाद सापकोटालाई पनि सम्मान गरिएको छ । १२ जनालाई नगद ३ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको हो । प्रतियोगिताहरुमा पदक विजेता खेलाडीहरुलाई हौसला प्रदान होस् भनेर सम्मान गरिएको अध्यक्ष थिङले बताउनुभयो । बकैयाँ गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरुको उपस्थितिमा खेलाडीहरुलाई सम्मान गरिएको हो ।

बकैया खेलकुद विकास समितिलाई पालिकाबाट आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको अध्यक्ष थिङले बताउनुभयो । आगामी आर्थिक वर्षमा बकैया–६ स्थित जुइना खेलमैदानलाई क्रिकेट रंगशालाको रुपमा विकास गरिने अध्यक्ष थिङले बताउनुभयो । जिल्लामै अहिले कुनै क्रिकेट रंगशाला नभएको अवस्थामा पालिकाले बकैयामा क्रिकेट रंगशाला निर्माण गर्ने उहाँले बताउनुभयो । यस्तै, बकैया फुटबल कपलाई निरन्तरता दिने, भलिबल, क्रिकेट, करा“ते र ब्याडमिन्टनका प्रतियोगिता आयोजना गरिने भएको छ ।