ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिँदै ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका ५ नम्बर वडाको सहयोगमा पिप्ले शहरी केन्द्रले वडाका विभिन्न ६ वटा केन्द्र मार्फत जनता घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । असार १ गते शुरु भई ७ गते सम्पन्न कार्यक्रममा १ हजार ४४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

पिसाब मार्फत गरिएको परीक्षणमा मृगौलाको कार्य अवस्था, पिसाबको गुणस्तर र ग्लुकोजको मात्राको अवस्था परीक्षण गरिएको छ । स्वास्थ्य केन्द्रको अभियानमा प्रोटिन जाँच गर्दा ७ जनामा सामान्य समस्या, ३ जनामा न्यून समस्या, १ जनामा मध्यम समस्या भेटिएको बताइएको छ । एज परीक्षणमा १५ जनामा सामान्य समस्या तथा ग्लुकोज परीक्षणमा १८ जनामा सामान्य समस्या, १३ जनामा न्यून समस्या, २६ जनामा केही समस्या र ६ जनामा मध्यम समस्या पाइएको छ ।

संस्था प्रमुख दुर्गा दाहालका अनुसार रक्तचापको समेत जाँच गरिएको अभियानमा सबै सेवाग्राहीहरुलाई आवश्यक परामर्श गरिएको छ । वडाको सधै साथ र सहयोग रहने प्रतिबद्धता प्राप्त भएको दाहालले बताउनुभयो । स्वास्थ्य केन्द्रले यसअघि विद्यालयमा किशोरीहरुलाई किशोरावस्थाको स्वास्थ्यबारे अभिमुखीकरण कार्यक्रम मार्फत वडाका ८ विद्यालयका ४०० छात्राहरुलाई प्रशिक्षित गरेको थियो ।