सर्वदलीय बैठकमा सहभागीहरु ।

हेटौँडाः बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको हेटौँडा अस्पतालको बजेट कटौतीको विषयमा बिहिबार हेटौँडामा सर्वदलीय बैठक बसेको छ । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा हेटौँडा उपमहानगरपालिकामै बसेको सर्वदलीय बैठकले अस्पतालको सेवा प्रभावित हुने गरी कर्मचारी कटौति गर्ने प्रस्तावको विरोध गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिष्ठानले असार ३ गते जारी गरेको सूचनामा कर्मचारी कटौती हुने देखिएकोले कर्मचारी कटौती नगरी उचित व्यवस्थापन गरी गुणस्तरीय सेवा प्रदान गर्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय भएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले जानकारी दिनुभएको छ । नगर प्रमुख लामाको अध्यक्षतामा बसेको बैठकमा संविधान सभा सदस्य प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुर सचिव नवीन सिग्देलको उपस्थिति रहेको थियो ।

यस्तै बैठकमा राप्रपा बागमती प्रदेश समितिका सचिव गुञ्जबहादुर न्यौपाने, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, नेपाल समाजवादी पार्टी मकवानपुरका संयोेजक राजकुमार भेटवाल, नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगर कमिटीका अध्यक्ष तीर्थबहादुर थापा मगर, राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा उपमहानगर समितिका सभापति ध्रुव विष्ट, हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको पनि उपस्थिति रहेको थियो ।

सर्वदलीय बैठकले हेटौँडा अस्पतालमा बढ्दो सेवाग्राहीको चापविपरित जनशक्ति कटौति गर्ने निर्णय गलत हुने नेकपा एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले जानकारी दिनुभएको छ । मकवानपुर जिल्लावासीले मात्रै नभई मधेश प्रदेशका सर्वसाधारणले समेत गुणस्तरीय सेवा पाउँदै आएको हेटौँडा अस्पतालको सेवा प्रभावित हुने गरी प्रदेश सरकारले गलत निर्णय गरेको दावी गर्नुहुँदै सर्वदलीय बैठकबाट प्रदेश सरकारको गल्ती सच्याउने प्रयास भएको श्रेष्ठको दावी छ । बढ्दो जनविश्वास र उपस्थितिमा राम्रो काम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने विषय पनि छलफल भएको बताइएको छ ।