हेटौँडाः हेटौँडामा जारी दोस्रो विजय युथ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् ढल्के जोवन एफसी र पशुपति युथ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा ढल्के जोवनले हटिया भेट्रान्सलाई र दोस्रो खेलमा पशुपतिले हेटौँडा फुटबल एकेडेमी ‘बी’ लाई समान १–० गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
ढल्के जोवनलाई जित दिलाउन मनोज लामाले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच लामा नै घोषित भए । यस्तै पशुपति युथलाई जित दिलाउन समीर चौलागाईले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच पनि चौलागाई घोषित भए ।
प्रतियोगिताअन्तर्गत् शुक्रबारको पहिलो खेलमा चाइना पब्लिक युथ क्लब र चौकीटोल युथ क्लबबीच हुनेछ भने दोस्रो खेल हेटौंडा फुटबल एकेडेमी ‘ए’ र विजय युथ क्लब ‘ए’बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।