हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–३, सिद्धकालीस्थित प्रजा आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत हाजिरीजवाफ प्रतियोगिता भएको छ । आज भएको प्रतियोगितामा ४ कक्षादेखि ८ कक्षासम्मका विद्यार्थीको सहभागिता रहेको थियो ।
पाँच जना विद्यार्थीको पाँचवटा समूह सहभागी भएको प्रतियोगितामा स्मृति प्रजा, युनिषा स्याङ्तान, आयुष सुनार, सुवास रुम्बा र मीरा नेपालीको लालीगुराँस समूह प्रथम, रचना सुनार, अरुणा भुलुन, कृजन नेपाली, श्रृष्टि प्रजा र प्रशंसा तामाङको मखमली समूह द्वितीय र कृष नेपाली, विवेक मुक्तान, दिलाशा स्याङ्तान, युनिषा लामा र कविना प्रजाको सयपत्री समूह तृतीय भएका छन् । हाजिरीजवाफमा पाठ्यक्रममै आधारित प्रश्नका साथै स्थानीय गतिविधिसँग सम्बन्धित भएर प्रश्न तयार पारिएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारले जानकारी दिनुभएको छ । यसअघिका शुक्रबार विद्यालयले चित्रकला, हस्तलेखनजस्ता क्रियाकलाप आयोजना गरेको प्रधानाध्यापक सुनारले बताउनुभएको छ । ८ कक्षासम्म पठनपाठन हुने प्रजा आधारभूत विद्यालयमा ३ सय २९ जना विद्यार्थी अध्ययनरत छन् ।