हेटौँडाः हेटौँडामा जारी दोस्रो विजय युथ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको दुई खेलमा नागस्वती युवा क्लव र बागमती प्रदेश प्रहरी गण विजयी भएको छ । बुधबारको पहिलो खेलमा रिगल हेटौँडा रिसोर्टलाई पराजित गर्दै नागस्वती विजयी भएको हो । दोस्रो खेल समाज कल्याण एफसिलाई पराजित गर्दै बागमती प्रदेश प्रहरी गण विजयी भएको हो ।
हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतीजाका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । म्यान अफ द म्याच नागस्वतीका गोलरक्षक अस्मिर गोङ्बा घोषित भए । यस्तै दोस्रो खेलमा बागमती प्रदेश प्रहरी गणको तर्फबाट रामकृष्ण राउतले निर्णायक गोल गरे । राउत म्यान अफ द म्याच घोषित भए । बिहिबार पहिलो खेल हटिया भेट्रान्स र ढल्के जोबन एफसी क्लब बीच हुनेछ भने दोस्रो खेलमा पशुपति युवा क्लब र हेटौँडा फुटबल एकेडेमी (बी) बीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विजय यूथ क्लबका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिनुभएको छ । प्रतियोगिता आयोजनाका लागि १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।