हेटौंडाः नेपाल विद्युत् प्राधिकारणको मनहरी क्षेत्रभित्र पर्ने सवस्टेशनमा विद्युत् परीक्षण कार्य सुरु गरिएको छ । बुधबार विद्युत् प्राविधिकरणको प्रविधिक टोलीले सवस्टेशनमा विद्युत् प्रसारण गरी परीक्षण गरेको इन्जिनियर त्रिशक्ति यादवले बताउनुभयो ।
प्राधिकारणले निर्माण गरेको सवस्टेशन हर्दी भण्डारा मार्तल खोलासम्म परीक्षण कार्य भइरहेको उहाँले बताउनुभयो । प्रशारणमा कुनै समस्या नआएमा शुक्रबारसम्म परीक्षण कार्य सम्पन्न गर्ने र समस्या आएमा केही समय लाग्नसक्ने उहाले जानकारी दिनुभयो ।
मनहरी गाउँपालिकाले मंगलबार एक सूचना जारी गरी प्राधिकारणको आयोजनाबाट मनहरी गाउँपालिका क्षेत्रभित्र पर्ने लोथर, सुनाचरी, मनहरी बजार हुँदै मनहरी सवस्टेशन गएको ३३ केभी प्रसारण लाइन परीक्षणको लागि विद्युत् चालु गरिने जानकारी गराएको थियो । ३३ केभी प्रसारण लाइनमा जडान गरिएको पोल, तार, स्टेलगायतका विद्युतीय उपकरणहरु नछुन, घरपालुवा जनावरहरुलाई पोल तथा स्टेमा नबाँध्न तथा आफ्ना बालबच्चाहरुलाई समेत उक्त विषयमा सचेत गराउन सूचनामा भनिएको छ ।
विद्युत् लाइनमा रुखका हाँगाबिँगा तथा बाँसले छोएको देखिएमा, कुनै स्थानमा स्पार्क आएमा वा अन्य कुनै खतरा देखिएमा विद्युत् प्राधिकरणमा जानकारी गराउनसमेत सूचनामा भनिएको छ ।