हेटौंडाः बागमती प्रदेशसभाको बैठक आगामी असार १२ गते मंगलबार बस्दैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को प्रस्तुत बजेटमाथि छलफल हुने भएको छ ।
बागमती प्रदेश सरकारले गत शुक्रबार प्रदेशको आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको थियो । मंगलबार बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कडारुपमा प्रस्तुत हुने भएको छ ।
नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारले प्रस्तुत गरेको अहिलेको बजेट बेठिक भएको बताउनुहुँदै यसलाई सभाबाट पास हुन नदिने बताउनुभयो । अहिलेको बजेट एक खालको वैधानिक भ्रष्टाचारजस्तो रहेको उहाँको भनाई छ ।
बजेटको २७ प्रतिशत मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीकहाँ रहेको आरोप लगाउनुहुँदै उहाँले यसले दिगो विकासको लक्ष्यलाई कतै नछोएको बताउनुभयो । उहाँले यो बजेटको लक्ष्य, गन्तव्य र कुनै क्रियाकलाप नमिलेको बताउनुभयो ।
जिल्लाहरुबाट आएको जनताको मागहरुको कुनै सम्बोधन नभएको र मनलाग्दी गरेको उहाँले बताउनुभयो । आफूहरुको कार्यकर्ताको टिपाएको र माग गरेको भरमा बजेट विनियोजन गरेकोले यो बजेट लथालिङ्ग रहेको उहाँको आरोप छ । नीति तथा कार्यक्रमअनुसारको बजेट हुनुपर्ने भएपनि यसो नभएकाले यो बजेट खण्डनयोग्य र खोरेजयोग्य रहेको उहाँले बताउनुभयो ।
यस्तै, राप्रपाका प्रदेश संसदीय दलका नेता उद्वब थापाले प्रदेश सरकारको अहिलेको बजेट असन्तुलित रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो कसैको खल्तीबाट झिकेकोे पैसा होइन, अहिले एकतर्फीरुपमा आफ्नो क्षेत्रमा नेतृत्व गरेको मन्त्रीहरुको ठाउँमा असमान ढङ्गबाट बजेट हाल्ने काम भएको छ ।’
कुनै ठाउँमा दुई अर्बसम्म बजेट हुने र कुनै ठाउँमा दुई करोडको पनि बजेट विनियोजन नहुने भएपछि अन्याय भएको उहाँको भनाई छ । नेता थापाले अहिले मुख्यमन्त्रीको गृहजिल्ला धादिङ, आर्थिकमन्त्रीको गृहजिल्ला नुवाकोटमा र सिन्धुपाल्चोकमा व्यापक बजेट विनियोजन गरेर अरुलाई अन्याय गरेको आरोप लगाउनुभयो । अहिलेको बजेट असमान ढङ्गबाट छुट्याइएकोले यसलाई सच्याउन आवश्यक रहेको उहा“ले बताउनुभयो । यहि अवस्थामा बजेट पास हुन नदिने उहाँले चेतावनीसमेत दिनुभएको छ ।