विद्यालयको बाल समूहमा निर्वाचित विद्यार्थीहरु ।

हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–४, फिर्केपाखास्थित ज्वालादेवी आधारभूत विद्यालयमा बाल समूह, जुनियर रेडक्रस सर्कल र विद्यालयको क्याप्टेन भाइस क्याप्टेन चयन गरिएको छ । शुक्रबार विद्यालयले नेतृत्व चयनका लागि निर्वाचन गरेको थियो ।

विद्यालयको बाल समूहको अध्यक्षमा ८ कक्षाकी उसिका सिंजाली सर्वसम्मत अध्यक्ष चयन हुनुभयो । उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा भने निर्वाचन भएको थियो । उपाध्यक्षमा ८ कक्षाकी मनिषा मोक्तान ५१ मतसहित निर्वाचित हुँदा ७ कक्षाका युनेष मोक्तानले ७ मत मात्रै पाएर पराजित भए । सचिवमा ८ कक्षाका अवरोध मुक्तान ३६ मतसहित निर्वाचित हुँदा ८ कक्षाकै गुराँस घलान २४ मतसहित पराजित भए । यस्तै कोषाध्यक्षमा ८ कक्षाका इश्वर ठकुरी ३९ मत पाएर निर्वाचित हुँदा २१ मत पाएका संयोग घलान पराजित भए । सहसचिवमा ७ कक्षाकी रमिता स्याङतान, सदस्यमा युनिका मोक्तान, स्मृति मोक्तान, जेनु राना मगर र आयुष थापामगर सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचनमा मतदान गर्दै विद्यार्थीहरु ।

जुनियर रेडक्रस सर्कलको सभापतिमा ३५ मत पाएर ८ कक्षाकी विद्यार्थी अनिशा गोले निर्वाचित हुँदा ५ कक्षाका विद्यार्थी अभिषेक बल १४ मत तथा ७ कक्षाकी शान्ता थिङ ११ मत पाएर पराजित भए । उपसभापतिमा ५ कक्षाकी अनिता भुलुन ३० मत पाएर विजयी हुँदा कक्षा ७ की सुमिना थिङ २९ मतसहित पराजित भइन् । निर्वाचित समितिले कोषाध्यक्ष र सहसचिव मनोनित गर्ने व्यवस्था रहेको छ भने सचिवमा कक्षा ८ की सम्झना जिम्बा, सदस्यमा कक्षा–४ का कृपा गुरुङ, एलिना थोकर, जेनिशा ठकुरी, कक्षा–६ का विद्यार्थी अंकित थिङ र विश्वास थिङ सर्वसम्मत निर्वाचित भएका छन् । स्कूल क्याप्टेनमा कक्षा ८ की सोनिया नेगी र भाइस क्याप्टेनमा जनाथन मोक्तान निर्वाचित भएको निर्वाचन समितिका संयोजक कमल सापकोटाले जानकारी दिनुभएको छ ।