हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगरका ७ वटा वडाका किसानलाई धानको बीउ अनुदानमा वितरण गर्ने भएको छ । वडामार्फत मकवानपुरे १ र रामधान प्रजातिको धानको बीउ वितरण गर्न उपमहानगरपालिकाले वडा कार्यालयमा बीउ पठाइसकिएको जनाएको छ ।
वर्षकै प्रमुख बालीको रुपमा असारमा रोपाइँ गर्ने गरी किसानलाई धानको बीउ वितरण गर्न लागेको हो । हेटौंडा उपमहानगरपालिकाले वडा नम्बर ६, ७, १२, १६, १७, १८ र १९ का लागि तीन हजार पाँच सय केजी धानको बीउ पठाएको हेटौंडा उपमहानगरपालिकाका कृषि विकास शाखाका प्रमुख दुर्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उपमहानगरपालिकाले गत वर्ष हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को गुरौवीर्ता क्षेत्रका किसानलाई नमूनाको रुपमा धानको बीउ वितरण गरेको थियो ।
यस वर्ष करिब २ लाख रुपैयाँ बराबरको बीउ वितरण गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका कृषि प्राविधिक रविन्द्र पौडेलले बताउनुभयो । कृषि प्राविधिक पौडेलका अनुसार वितरण गरिएको धानको बीउ एक सय विगाहा क्षेत्रमा रोपाइँ गर्न पुग्नेछ । उपमहानगरका १९ वटा वडा मध्ये धानखेती हुने प्रमुख वडाहरुमा यस वर्ष बीउ वितरण गर्न लागिएको हो ।
किसानलाई खाद्यान्न उत्पादनमा प्रेरित गर्न आगामी आर्थिक वर्ष पनि अनुदानमा बीउ वितरणको कार्य जारी राख्ने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिकाले कृषि उत्पादन बढाउन, कृषकलाई कृषि कर्ममा प्रेरित गर्न कृषि मेला तथा उत्कृट कृषक सम्मान लगायतका कार्य समेत गर्दै आएको छ ।