हस्ताक्षर प्रतियोगितामा सहभागी विद्यार्थीहरु ।

हेटौँडाः हेटौँडा–६, गौरिटारस्थित बालजागृति युवा वर्ष माविमा शुक्रबारीय क्रियाकलापअन्तर्गत हस्ताक्षर र म्युजिकल चियर प्रतियोगिताको आयोजना गरेको छ । प्रारम्भिक बालविकास कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीबीच म्युजिकल चेयर प्रतियोगिता आयोजना गरिएको थियो भने द्ध कक्षादेखि १० कक्षासम्मका विद्यार्थीबीच हस्ताक्षर प्रतियोगिता आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीले जानकारी दिनुभएको छ ।

म्युजिकल चियर प्रतियोगितामा सहभागी विद्यार्थीहरु ।

हस्ताक्षर प्रतियोगितामा नेपाली र अंग्रेजी दुवैतर्फ आयोजना गरिएको थियो । प्रतियोगितामा कक्षागत प्रथम, द्वितीय र तृतीय छनोट गरी पुरस्कृत गरिने प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो । विद्यार्थीको हस्ताक्षर सुधारका लागि प्रतियोतिा नै आयोजना गरिएको उहाँले बताउनुभएको छ । पूर्वप्राथमिक तह र प्राथमिक तहका विद्यार्थीलाई भने मनोरञ्जनका लागि म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । म्युजिकल चियरमा कक्षा ३ का सुमित अधिकारी प्रथम, कक्षा १ की अनुष्का तिमल्सिना द्वितीय र कक्षा १ के सिर्जन दंगाल तृतीय भएका छन् । हस्ताक्षर प्रतियोगिताको नतीजा भने आइतबार मात्रै सार्वजनिक हुनेछ ।

विद्यार्थीलाई रचनात्मक बनाउन, क्रियाकलापमा आधारित भएर शिक्षण सिकाईका लागि कक्षामा बुक कर्नर निर्माण गर्ने, शिक्षकहरुको क्षमता विकास गर्ने योजना रहेको प्रधानाध्यापक सम्झना अधिकारीले बताउनुभएको छ । १० कक्षासम्म पठनपाठन हुने बालजागृति युवा वर्ष माविमा ३ सय विद्यार्थी अध्ययनरत छन् ।