हेटौंडाः गत चैत ११ गतेबाट देशमा लकडाउन भएसँगै देश प्रायः ठप्प छ । लकडाउन हुनुअघि नै चैत ६ गतेदेखि नै देशभरका शैक्षिक संस्था बन्द छन् । पछिल्लो समय केहि विद्यालयहरुले अनलाइनबाट पठनपाठन गर्न सुरुवात गरे पनि यो माध्यम प्रभावकारी नभएको प्रतिक्रिया आएको छ । यसमा शिक्षक नै अनलाइनबाट शिक्षा दिन तालिम प्रप्त नभएको, विद्यार्थीमा इन्टरनेटको पहुँच नभएको विद्यार्थी अभिभावकको सोच र बानीको विकास नभएकोले अनलाइन शिक्षालाई प्रभावकारी बनाउन नसकिएको हेटौंडाका विभिन्न विद्यालयहरुमा अध्यापनरत शिक्षकहरुले बताएका छन् ।

अनलाईन शिक्षालाई प्रभावकारी बनाएर अगाडि बढ्ने उद्देश्यले काभ्रे जिल्लामा रहेको शैक्षिक तालिम केन्द्र धुलिखेलले ५ दिने अनलाइन तालिम सञ्चालन गरेको छ । केन्द्रले आधारभुत तहका शिक्षकको लागि तालिम सञ्चालन गरेको हो । तालिम बिहिबारबाट सञ्चालन भएको छ । सो तालिममा मकवानपुरबाट २४ जना शिक्षकहरुले सहभागी छन् । आधुनिक राष्ट्रिय माविका १० जना शिक्षकको सहभागिता रहेको छ । तालिममा मनोज पौडेलले सहजीकरण गरिरहनुभएको आधुनिक माविबाट तालिममा सहभागी आधारभुत तहका अंग्रेजी शिक्षक सुरज बुढाथोकीले जानकारी दिनुभयो । आफु सहभागी भएको समुहमा मकवानपुरका २४ र दोलखाका ५ गरी २९ जना आधारभुत तहका शिक्षकहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार तालिमको पहिलो दिन हिजो गुगल मिटिङ सम्बन्धी सहजीकरण भएको थियो । आज शुक्रबार जुम एप कसरी प्रयोग गर्ने र सो एपबाट कसरी प्रस्तुतीकरण गर्ने, कसरी पढाउने विषयमा सहजीकरण भएको छ । तालिमको तेस्रो दिन भोली शनिबार शिक्षण सिकाईमा प्रविधिलाई कसरी प्रयोग गर्ने लगायतको विषयमा प्रस्तुती हुने कार्ययोजना रहेको छ । तालिमको चौथो दिन विषयगत छलफल र अभ्यास र पाँचौं दिन अर्थात तालिमको अन्तिम दिन गुगल, जुम, प्रविधि लगायत विविध विषयमा छलफल गरेर मुल्याङकन गरेर समापन गरिने कार्यतालिका रहेको छ ।