मकवानपुरगढी गाउँपालिकामा अमेरिकी फौजीकिराले क्षति पुर्‍याएको मकैबाली ।

हेटौंडाः मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिकामा अमेरिकी फौजीकिराको प्रकोप बढेको छ । राक्सिराङ गाउँपालिकाको सबै वडाहरुमा यसको प्रकोप देखिएको राक्सिराङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कान्छाराम रुम्बाले जानकारी दिनुभयो । फौजीकिराले मकैबालीमा क्षति पुर्‍याएको वडा अध्यक्ष रुम्बाको भनाई छ ।

फौजीकिराको प्रभावका कारण मकैबाली प्रभावित भए राक्सिराङमा भोकमरी लाग्ने भन्दै वडा अध्यक्ष रुम्बाले चिन्ता व्यक्त गर्नुभयो । गाउँपालिकाका कृषि प्राविधिकले फौजीकिराको प्रभावबाट बच्ने उपायबारे जानकारी दिन नसक्दा थप समस्या भएको उहाँको भनाइ छ । मकैबालीमा बढी देखिने गरेको अमेरिकी फौजीकिरा अन्य अन्नबाली र तरकारीमा समेत देखिन थालेको छ । अमेरिकी फौजीकिरा ३ सय ५३ प्रकारका बालीमा देखिएको कृषि विकास निर्देशनालयले जनाएको छ । मकै, धान, गहुँ, काउली, कोदो, घाँसेबाली, काउली, बन्दा, तेलहनबाली, काँक्रो, बदाम, भटमास, प्याज, गोलभेंडा, आलु लगायतका बालीमासमेत अमेरिकी फौजीकिराले सताउन लागेको कृषिविज्ञले बताएका छन् ।

फौजीकिराको जोखिम हेटौंडा उपमहानगरमा पनि रहेको भन्दै नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाले एक सुचना पनि जारी गरेको छ । विशेषगरी मकैमा बढी यसको प्रकोप देखापर्ने भएको कारण मकैबालीको अन्तरबालीमा फौजीकिरालाई मन नपर्ने तरुल, सिमल तरुल लगायतका बालीहरु लगाउन आग्रह गरेको छ । हेटौंडा उपमहानगरपालिकाले नगरबासीहरुमा थप जानकारीका लागि नगरको कृषि विकास शाखाका प्राविधिकहरुसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

मकवानपुरको बागमती गाउँपालिकामा पनि अमेरिकन फौजीकिरा देखिएको छ । मकवानपुरगढीको ८ वटा वडामध्ये ७ वटा वडामा व्यापक रुपमा अमेरिकन फौजीकिरा देखा परेको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताउनुभयो । पहिलोपटक मकैबालीमा अमेरिकन फौजीकिरा व्यापक देखिएको उहाँले बताउनुभाये । उहाँले गाउँपालिकमा अत्याधिक रुपमा देखापरेपछि नियन्त्रण गर्न विषादी वितरण गरिरहेको जानकारी दिनुभयो । अमेरिकी फौजीकिराको प्रभाव कम गर्न घरेलु उपायहरु पनि अबलम्ब गर्न सकिने बताउनुभयो । ४ प्रकारका रासायनिक विषादीहरुको प्रयोग गर्न भनिए तापनि अहिले लकडाउनका कारण सबै किसान सहजै बजारसम्म पुग्न सक्ने अवस्था नहुनुले समस्या भएको प्राविधिक चौधरीको भनाइ छ ।