मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा ।

हेटौँडाः संघीय सरकारको ध्यानाकर्षण गराउन प्रेस सेन्टर मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षणपत्र बुझाएको छ । प्रेस सेन्टरले उठाउँदै आएका मागहरूका सन्दर्भमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउन मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । प्रेस सेन्टर मकवानपुरले बुधबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई १४ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

समानुपातिक विज्ञापन नीति ल्याएको भन्दै सरकारलाई धन्यवाद दिएको प्रेस सेन्टरले समानुपातिक विज्ञापन नीति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । सेन्टरले अनलाइन सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने संघीय सरकारको निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारमार्फत पहल गरिदिन भनेको छ । भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई पछि नहट्न अनुरोध गरेको सेन्टरले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न मिडिया काउन्सिल तथा आमसञ्चार माध्यमसँग सम्बन्धित अन्य कानुनहरु यथाशिघ्र प्रक्रियागत हिसाबले अगाडि बढाउन पनि माग गरेको छ । न्युनतम पारिश्रमिक निर्धारण समितिलाई अनुगमनको समेत जिम्मेवारी दिँदै अझ बलियो र प्रभावकारी बनाउन पत्रमा उल्लेख गरिएको छ ।

श्रमजीवि पत्रकारलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने गरी प्रभावकारी नीति बनाउन पनि सरकारसँग सेन्टरले माग गरेको छ । सञ्चारमाध्यम एउटै निकायमा दर्ता भई सञ्चालन हुने व्यवस्था मिलाउन, आमसञ्चार प्रशिक्षण प्रतिष्ठान तत्काल गठन गर्नका लागि सरकारसँग आग्रह गरिएको छ ।