जिल्ला शिक्षा समितिका अध्यक्ष ललितबहादुर घलानबाट नियुक्तिपत्र बुझ्नुहुँदै आयोगको परीक्षामा सफल एक उम्मेदवार ।

हेटौँडाः शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भई उत्तीर्ण भएका ३ सय ४ जनामध्ये २ सय ९६ जनाले प्राथमिक तहको शिक्षकको रुपमा नियुक्ति लिएका छन् । आयोगको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले हेटौँडामा बुधबार एक समारोहका बीच नियुक्तिपत्र वितरण गरेको छ । परीक्षामा सफल भएका मध्ये ८ जना बुधबार अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाईकी अधिकृत उन्नति ढकालले जानकारी दिनुभयो ।

बुधबार नियुक्तिपत्र नबुझेका ८ जनालाई कार्यालयमै नियुक्ति पत्र वितरण गरिने ढकालले स्पष्ट पार्नुभएको छ । मकवानपुर जिल्लाका लागि प्राथमिक तहमा ३ सय ३५ जना शिक्षक नियुक्तिका लागि आयोगले परीक्षा लिए पनि ३ सय ४ जना मात्रै परीक्षामा उत्तीर्ण भएका थिए । यसअघि गत चैत २० गते नै नियुक्ति पत्र वितरण गर्ने तयारी गरे पनि चैत १४ गते नै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि नियुक्तिको प्रक्रिया रोकिएको थियो । आयोगको परीक्षामा सहभागी परीक्षार्थी सावित्री सञ्जेललाई आयोगले अयोग्य घोषित गर्दै नियुक्त गर्न नसक्ने जनाएपछि सञ्जेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । खुला र महिलातर्फ परीक्षा दिनुभएकी सञ्जेलको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले खुला र महिलाबाहेकलाई नियुक्ति दिन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको अन्तरिम आदेशपछि खुला र महिलातर्फ सफल अन्य उम्मेदवारले एउटै परीक्षामा उत्तीर्ण उम्मेदवारहरु फरक फरक मितिमा नियुक्त हुँदा आफूहरु प्रभावित हुने भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा नियुक्तिको प्रक्रिया रोक्न माग गर्दै रिट निवेदन दर्ता गरेका थिए । रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालतले चैत १९ गते नियुक्तिको प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो ।

जेठ २४ गते सर्वोच्च अदालतले सावित्री सञ्जेलले दर्ता गरेको मुद्दा खारेज गर्ने निर्णय गर्यो । सर्वोच्चले मुद्दा खारेज गरेसँगै उच्च अदालत पाटन हेटौँडा इजलासमा दर्ता गरेको मुद्दा फिर्ता लिएसँगै करिब अढाई महिनापछि प्राथमिक तहका शिक्षकले नियुक्तिपत्र बुझ्न पाएका हुन् । बुधबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमको अध्यक्षता तथा जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा नियुक्तिपत्र वितरण गरिएको हो । नियुक्तिपत्र वितरणपछि इकाई प्रमुख गौतमले प्राथमिक तहमा नियुक्त शिक्षकहरुलाई सपथ गराउनुभएको थियो ।

नियुक्तिपत्र बुझेका शिक्षक अब सम्बन्धित पालिकामा सम्पर्क गरी विद्यालयमा पुग्नेछन् । आयोगबाट प्राप्त विवरणअनुसार इकाईले पालिकागत नियुक्तिपत्र वितरण गरेको छ । पालिकामा पुगेपछि सफल उम्मेदवारको वरियताक्रमअनुसार विद्यालय छनोटको अवसर प्राप्त हुन्छ । हेटौँडा उपमहानगरपालिकामा २० जना, थाहा नगरपालिकामा ३७ जना, भीमफेदी गाउँपालिकामा २४ जना, बागमती गाउँपालिकामा ३३ जना, कैलाश गाउँपालिकामा ४५ जना, बकैया गाउँपालिकामा ३६ जना, मनहरी गाउँपालिकामा २३ जना, राक्सिराङ गाउँपालिकामा ४० जना, इन्द्रसरोवर गाउँपालिकामा २१ र मकवानपुरगढी गाउँपालिकामा २५ जनालाई नियुक्त गरिएको छ ।