इपा (भीमफेदी)ः मकवानपुरको भीमफेदी गाउँपालिका–८, इपास्थित पञ्चकन्या माविमा अभिभावक शिक्षा कार्यक्रम भएको छ । विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुईदिवसीय अभिभावक शिक्षा कार्यक्रम भएको हो । बागमती प्रदेश सरकारले विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रमको रुपमा विविध क्रियाकलाप गर्न प्रदेशका ६ सय भन्दा बढी विद्यालयलाई कार्यक्रम स्वीकृत गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष सुरेन्द्र खड्का, प्रधानाध्यापक सुरेश कुमार ठकुरीको उपस्थितिमा मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक एवम् पत्रकार सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । विद्यालयको शैक्षिक क्रियाकलापमा अभिभावकको भूमिका बढाउन र विद्यार्थीलाई अनुकुल वातावरण निर्माण गर्न अभिभावक शिक्षाको कार्यक्रम सञ्चालन गरिएको हो । आइतबार र सोमबार दुईदिन सञ्चालन हुने अभिभावक शिक्षामा अभिभावकको जिम्मेवारी, अभिभावक र शिक्षकको सहकार्यमा विद्यार्थीलाई उपयुक्त शैक्षिक वातावरण निर्माणसम्बन्धमा विशेष प्राथमिकता दिइएको छ ।
अभिभावक शिक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद अधिकारीले विद्यालयमा गुणस्तरीय र समयानुकुल शिक्षा प्रदान गर्न एक शिक्षक, एक ल्यापटप वितरण गरिने जानकारी गराउनुभयो । अध्यक्ष अधिकारीले केहीदिनमै इन्टरनेट जडान भएसँगै शिक्षकले ल्यापटप प्राप्त गरी विद्यार्थीलाई समयानुकुल शिक्षा र ज्ञान प्रदान गर्न सकिने स्पष्ट पार्नुभयो । विद्यालयमा शुद्ध पिउने पानीको पनि व्यवस्था गरिएको उल्लेख गर्नुहुँदै शिक्षकले अब मिहिनेत गरेर विद्यार्थीलाई ज्ञान बाँड्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक सुरेश कुमार ठकुरीले अभिभावकलाई विद्यालय र विद्यार्थीप्रति ध्यान दिन सम्मान र सचेतनाको कार्यलाई निरन्तर जारी राख्ने बताउनुभयो । विद्यालयले सदैव विद्यार्थी केन्द्रित भएर काम गर्ने उल्लेख गर्नुहुँदै प्रधानाध्यापक ठकुरीले भन्नुभयो, “गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले सक्दो प्रयास गरिरहेको छ । सूचना र प्रविधिसँग जोडिएर शिक्षकले काम गर्नेछ ।” आफ्नो सेवाक्षेत्रका सवै बालबालिका विद्यालयमा समेटिएको उहाँको भनाइ छ । पञ्चकन्यामा १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।