नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महत बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सुझावपत्र बुझाउँदै ।

हेटौँडाः नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले हेटौँडा उपमहानगरपालिकाको विकासका लागि बागमती प्रदेश सरकार समक्ष सुझावहरु पेश गर्नुभएको छ । हेटौँडालाई समृद्ध बनाउने उद्देश्यका साथ सचिव महतले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विभिन्न योजनाहरु समेटिएको सुझावपत्र बुझाउनुभएको छ ।

उहाँले पर्यटन, धर्म, जलचर संरक्षण, विभिन्न जंगली जनावरका फार्महरुका बारेमा, फलफूलको शहर, रमणीय क्षेत्रलगायतका ४० वटा योजनाहरु सुझाव लिखितरुपमा बुझाउनुभएको छ । सचिव महतले आफ्ना सुझावलाई आगामी आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेटमा समावेश गर्न आग्रह गर्नुभएको छ । ‘यस योजनाले हेटौँडाको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ । पर्यटकीय क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार विकास गरेको खण्डमा पक्कै पनि छिमेकी राष्ट्र भारतबाट यहाँ पर्यटक भित्र्नेछन्’, उहाँले भन्नुभयो ।

सुझाव पत्र बुझ्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको राजधानी मकवानपुरलाई विशेष रुपमा विकास गर्न बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘हेटौंडाको पर्यटन क्षेत्रमा लागनी गर्न प्रदेश सरकार तयार रहेको छ । यसका लागि आवश्यक अध्ययन हुन जरुरी छ ।’, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “पर्यटन क्षेत्रका लागि आवश्यक पूर्वाधार देखिने गरी विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।”