हेटौंडाः तेश्रो संस्करणको हेटौंडा मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत् शनिबार दुई खेल सम्पन्न भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा २ नम्बर वडा र १९ नम्बर वडा क्वाटरफाइनल प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो खेलमा २ नम्बरले १७ नम्बर वडालाई १–० गोलले हराएको हो । २ नम्बरको जीतमा कैलाश श्रेष्ठले निर्णायक खेल गरे । श्रेष्ठ खेलको म्यान अफ द म्याच घोषित भए ।
शनिबार भएको दोस्रो खेलमा ८ नम्बर वडालाई २–० गोलले हराउँदै १९ नम्बर वडा क्वाटरफाइनल प्रवेश गरेको हो । १९ नम्बरको जीतमा सञ्जीव गोङ्बा र बुद्ध मल्लले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच गोङ्बा घोषित भए ।
प्रतियोगिताको फाइनल खेल जेठ २७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेता १ लाख ५० हजार र सेमिफाइनलमा पराजित हुने २ वटा टिमले ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र उत्कृष्ट खेलाडीहरुलाई ५/५ हजार रुपैयाँ नगदसहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।