कार्यशाला गोष्ठीको उदघाट्न गर्दै तस्वीर ।

हेटौंडाः मकवानपुर महिला उद्यमी व्यवसायी संघको २ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । मकवानपुर महिला उद्यमी व्यवसायी संघको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा शुक्रबारबाट हेटौंडामा बागमती प्रदेशस्तरीय महिला उद्यमी व्यवसायी कार्यशाला गोष्ठी २०८० सुरु भएको हो ।

गोष्ठीमा बागमती प्रदेशमा रहेका महिला उद्यमी व्यवसायीहरु उपस्थित रहेका छन् । गोष्ठीमा प्रदेशका विभिन्न उद्योग बाणिज्य संघमा आवद्ध भएका २५ वटा संस्थाबाट महिला उद्यमीहरु सहभागी रहेका छन् । कार्यशाला गोष्ठीमा मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशीला पाण्डेको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य रहेको थियो ।

गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री लामाले पछिल्लो समय घरेलु तथा साना उद्योगको सहायताले महिलाई उद्यमी बन्न सहयोग गरेको बताउनुभयो । उहाँले महिलाले पनि सशक्त भएर उद्योग खोल्न सक्ने बताउनुभयो । महिलाहरु घरेलुमा मात्र सिमित नभई ठूला उद्योग सञ्चालन गर्न सुझाव दिनुभयो । बागमती प्रदेश सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रममा महिलाको उद्योगलाई प्रोत्साहन दिने नीति लिएको बताउँदै मन्त्री लामाले महिलाहरुले उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यशाला गोेष्ठीमा मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष पाण्डेले २०७० भदौ ३० गते संस्थाको स्थापना भएको स्मरण गराउनुभयो । स्थापनाकालमा धेरै चुनौती आएको बताउँदै उहाँले चुनौतीको सामना गरेर आइपुग्दा अब्बल हुन सफल भएको जानकारी दिनुभयो । महिलाहरुलाई उद्यमी बन्न प्रेरित गराउन, उद्योगी बन्न आवश्यक पर्ने कुरा सिकाउन कार्यशालाको आयोजना गरिएको अध्यक्ष पाण्डेको भनाई छ ।

कार्यशाला गोष्ठीमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उद्योग सञ्चालन गर्दा आउने समस्या समाधानको विषयमा छलफल हुने बताउनुभयो । उद्योगीहरुले रहरमा र आवेशमा आएर उद्योग सञ्चालन नहुने भएकाले गोष्ठीले कसरी कार्य गर्ने भन्ने कुरा उठान गर्नेमा जोड दिनुभयो ।