हेटौंडाः बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल सकिएको छ । छलफलमा प्रदेशसभा सदस्यहरुले दिएको सुझाव सम्बोधन गरेर नीति तथा कार्यक्रम पुनर्लेखन गरेर पुनः जारी नभए नेकपा एमालेले सदन अवरुद्ध गर्नसक्ने चेतावनी दिएको छ । बागमती प्रदेशको नीति तथा कार्यक्रममाथि छलफलको तेश्रो दिन प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य ज्ञानबहादुर तामाङले यस्तो धारणा राख्नुभयो ।

बैठकमा तामाङले नीति निर्माण गर्दा राजनीतिक बेइमानी गर्न नहुने कुरामा जोड दिनुभयो । नीति तथा कार्यक्रममा छलफल गर्दा प्रतिपक्षहरुले उठाएको कुराको सुनुवाई नभएको बताउँदै बैठकमा सवालको जवाफमात्र दिने भएकाले आफ्ना कुरा समावेश हुने नदेखिएको बताउनुभयो । नीति तथा कार्यक्रम निर्माण गर्दा सुझाव संकलन गरेर सुझावअनुसार परिमार्जन गरेर नीति तथा कार्यक्रम पारित हुने व्यवस्था एमालेले चाहेको उहाँको भनाई छ ।

‘बागमती प्रदेश सरकारले न त दूरगामी प्रभाव पारेर प्रदेशलाई समृद्ध बनाउने खाका प्रस्तुत गर्न सक्यो, न त वर्तमान विषम परिस्थितिबाट प्रदेशले निकास पाउने मार्गचित्रण गर्न सक्यो’ उहाँले भन्नुभयो– ‘जनतालाई ढाँट्ने कर्मकाण्डी नीति तथा कार्यक्रम निर्माण गरेको, प्रकृया पूरा गर्ने भक्तिपुराणजस्तो नीति तथा कार्यक्रम भएको, कार्यक्रम निर्माण गर्दा सरकारले सुझाव संकलन गर्न सकेको छैन ।’ नीति तथा कार्यक्रम उच्च महत्वाकांक्षी देखिएको भन्दै उहा“ले भूगोलको आधारमा काम समयमा सक्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य कृष्ण खनालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्राविधिक त्रुटी भएको भन्दै त्यस्ता त्रुटी हुन नहुने बताउनुभयो । शिक्षाको विकास गर्न सरकारीे ओहोदामा बसेकाहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश सरकारले उत्पादन भएको कृषकको उत्पादित वस्तु बिक्री गर्न बजारको व्यवस्था गर्नुपर्ने भन्दै त्यसो गर्न नसके सरकारले नै खरिद गर्न सक्नुपर्ने उहाँले जोड दिनुभयो ।

प्रदेशसभा सदस्य रमा आले मगरले नीति तथा कार्यक्रम निर्माण गर्दा बागमती प्रदेश सरकारले सबै पक्ष समेटेको बताउँदै बहुवर्षीय योजना कार्यान्वयन नभएकाले समेटेर जानुपर्ने बताउनुभयो । प्रदेशमा अटिजमसँग सम्बन्धित विद्यार्थीहरुलाई विद्यालयको व्यवस्थापन गर्नुपर्ने बताउँदै स्वास्थ्य प्रवद्र्धनका लागि क्यान्सर, मृगौला पीडित बिरामीको लागि सुविधासम्पन्न अस्पतालको निर्माण गर्नुपर्ने माग राख्नुभयो । प्रदेशमा पछिल्लो समयमा कक्षा १२ पछि विद्यार्थी विदेश जाने प्रवृत्ति रोक्न आवश्यक रहेको जोड दिनुभयो । कृषिमा विषादी धेरै प्रयोग भएकाले त्यसको विकल्पमा अन्य औषधी खोज्नुपर्ने उहाँको भनाई छ । सरकारले वन संरक्षण गर्दै आएकोमा र अबका दिनमा उपयोग गर्न आवश्यक रहेको बताउँदै वनमा ढलेर कुहिएर गएको काठ उपयोग गर्ने नीति बनाउनु आवश्यक रहेको औंल्याउनुभयो ।

बैठकमा बोल्दै प्रदेशसभा सदस्य मायाकुमारी कार्कीले नीति तथा कार्यक्रममा पहिलेको सरकारले ल्याएको नीति छुटेको बताउनुभयो । प्रदेश सरकारले भौतिक पूर्वाधारको काम अपूरो भएकोलाई पूरा गर्नुपर्ने बताउँदै सरकारले निम्न तहका अपाङ्गता भएकाहरुको निःशुल्क स्वस्थ्यमा बीमा गर्ने कार्यक्रम ल्याएकोमा प्रशंसा गर्नुभयो । सरकारले स्वयम्सेविकालाई बैठक भत्तामात्र दिने गरेकोमा मासिक भत्ता दिने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । किसानले उत्पादन गरेको वस्तु बिक्री वितरणका लागि सरकारले बजारीकरण र भण्डारण गरेर राख्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै ग्रामीण भेगका महिलाहरुलाई रोजगारीको अवसर दिनुपर्ने उहाँको भनाई छ ।

बैठकमा प्रदेशसभा सदस्य राजु विष्टले प्रदेश सरकाको नीति तथा कार्यक्रममा समावेश भएको साँखु–फड्केश्वर सुरुङमार्ग बनाउने कार्य स्वागतयोग्य रहेको बताउँदै बाटो पूर्णरुपमा बनाउन आवश्यक रहेको उहाँको भनाई छ । सरकारले सन् २०२४ मा पर्यटन वर्ष मनाउने भनिएकोमा पूर्वतयारीका लागि पर्यटकलाई आकर्षण गर्न जिपलाइन बनाउन आवश्यक रहको, रिभर करिडोर बनाउन आवश्यक रहेको बताउनुभयो । धर्म र पर्व हाम्रो गर्व भन्ने नारा रहेको बताउँदै बागमती प्रदेश सरकारले गुम्बा, मठ मन्दिर, गुठी संरक्षण गर्न आवश्यक नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नीति तथा कार्यक्रमले सबै समेट्न खोजेको बताउँदै प्रदेशसभा सदस्य मायादेवी शर्माले सरकारले बजेट विनियोजन पनि यही ढंगबाट गर्नुपर्ने माग गर्नुभयो । सरकारले सूचना प्रविधिको उपयोग भनेर बागमती प्रदेशको सम्पूर्ण कार्य वेवसाइटमा देखाउने भनिएता पनि सरकाले कार्यान्वयनमा ल्याउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले एकल महिलाको हितको कानुन निर्माण गर्नुपर्ने, बाँदर आतङ्क प्रविधियुक्त ढंगले नियन्त्रण गर्नुपर्ने, युवालाई विदेशबाट फर्केपछि नभई विदेश जान नपर्ने वातावरण बनाउन आवश्यक रहेको, प्रदेशका गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम मायाजालको शब्दले भरिएको प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले बताउनुभएको छ । प्रदेशले सुशासन दिन सक्नुपर्ने बताउँदै विद्यार्थी, कृषक, अल्पसंख्यकहरुलाई बागमती प्रदेश सरकारले काम गर्न सक्छ भन्ने अनुभूति हुने खालको काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।