मकवानपुरगढीः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, छाप्नेस्थित कालिदेवी आधारभूत विद्यालयका अभिभावकलाई अभिमुखीकरणको आयोजना गरिएको छ । विद्यालयमा अभिभावकको जिम्मेवारीको विषयमा अभिमुखीकरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर मोक्तान, शिक्षक अभिभावक संघका अध्यक्ष दीपक योञ्जन, प्रधानाध्यापक केशव देवकोटाको उपस्थितिमा आज मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक तथा पत्रकार सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयको विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अभिभावक शिक्षाका लागि अभिमुखीकरणको आयोजना गरिएको हो । अभिमुखीकरणमा अभिभावकको भूमिका, विद्यालयमा अभिभावकको उपस्थिति, घरमा बालबालिकाका लागि आवश्यक शैक्षिक वातावरण, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भूमिका, विद्यालय प्रशासनको भूमिका, अभिभावकले बालबालिकासँग गर्नुपर्ने सकारात्मक व्यवहार लगायतका विषयमा अभिमुखीकरण गराइएको थियो ।
प्रदेश सरकारले विद्यालयको शैक्षिक सुधारका लागि नमूनाका रुपमा विभिन्न विद्यालयमा विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्दै आएको छ । ५ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।