फाइल तस्वीर ।

हेटौँडाः हेटौँडामा जारी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको पहिलो सेमीफाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २३–२५ ले गुमाएको थियो । दोस्रो सेट नेपाल पुलिसले जितेपछि प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा विपरित तेस्रो र चौथो सेट आमीले सहजै आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गरेको हो । आर्मीले तेस्रो सेट २५–१३ ले र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो । म्यान अफ द म्याच आर्मीका सनोज चौधरी घोषित भए ।

दोस्रो सेमीफाइनल खेल शुक्रबार दिउँसो हुप्रचौरस्थित भलिबल कोर्टमा गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुनेछ । शनिबार बिहान फाइनल खेल हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबलको संयुक्त आयोजनामा भएको हो । प्रतियोगिताको मुख्य प्रायोजक हेटौँडा उपमहानगरपालिका रहेको छ ।