हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लकडाउनका बेला रोजगारी गुमेर खाद्यान्न अभाव हुने परिवारलाई मकवानपुरको कैलाश गाउँपालिकाले काममा लगाएर खाद्यान्न वितरण गर्ने कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाका १० वटै वडामा खाद्यान्नका लागि काम कार्यक्रम सुरु गरेको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो । काममा आधारित राहत वितरण कार्यमा २३ सय जना सहभागी हुने उहाँले बताउनुभयो ।
गाउँपालिकाले अहिलेसम्म राहत वितरण नै गरेको छैन । जिल्लाकै विकट गाउँपालिकामा काम नपाएर खाद्यान्न अभाव हुने स्थिति नभएको ठहर गर्दै गाउँपालिकाले अहिलेसम्म राहत वितरण गरेको थिएन । लकडाउन आव्हान भएको ५८ औं दिनमा मात्रै आवश्यकता भएकालाई काममा लगाएर मात्रै राहत वितरण गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष मोक्तानले बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य परीक्षण गरेर मात्रै काममा लगाएको जनाएको छ । यस्तै बालबालिकालाई पनि श्रममा सहभागी नगराएको स्पष्ट गरेको छ ।
गाउँपालिकाका १० वटा वडा मध्ये वडा नम्बर ४ र ७ मा २५०/२५० जना काममा सहभागी छन् भने अन्य वडामा २२५/२२५ जना सहभागी छन् । गाउँपालिकाले सबै वडामा २५/२५ जनाको समूह बनाएर हरेक समूहमा एकजनालाई सुपरभाइजर राखेर काममा लगाएर अध्यक्ष मोक्तानले बताउनुभयो । ‘काम नभएर खान नपाइने भो भन्नेलाई काम दिएर खाद्यान्न वितरण गर्न सुरु गरेका छौं’, गाउँपालिका अध्यक्ष टंक मोक्तानले भन्नुभयो, ‘खानाका लागि कामको अवसर पनि दिने र खाना दिएर गाउँपालिकाको काम पनि हुने उपाय अपनायौं ।’
खाद्यान्नको माग गर्ने गाउँवासीलाई गाउँपालिकाले मुख्यबाटो, भित्री बाटो, गोरेटो, कुलो, विद्यालय जाने बाटो मर्मत गर्ने काममा लगाइएको छ । गाउँपालिकाले ४ दिन काम गरेवापत ५० केजी चामलसहित दाल, तेल, नुन, मसला, सावुन वितरण गर्ने जनाएको छ ।