हेटौंडाः बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमा रोजगारी र उत्पादनलाई पहिलो प्राथमिकता दिने भएको छ ।
कोरोना प्रकोपका कारण प्रदेशमा रोजगारी सिर्जना गरी उत्पादनमा जोड दिइनुपर्ने मन्त्रालयले बताएको छ । मन्त्रालयलाई आगमी आर्थिक वर्षको लागि ४ खर्बको बजेट सिलिङ प्राप्त भएको मन्त्रालयका प्रवक्ता निरञ्जन श्रेष्ठले बताउनुभयो । गत वर्ष करिब ४ खर्ब ५९ करोडको बजेट सिलिङ प्राप्त भएको मन्त्रालयमा आगमी वर्षको लागि करिब ५९ करोड घटेर आएको श्रेष्ठले जानकारी दिनुभयो । बजेट निर्माणको अभ्यास भैरहेको भन्दै फाइनल बजेटको खाका भने तयार नभएको उहाँको भनाई छ ।
मन्त्रालयले आगमी वर्ष पर्यटन क्षेत्रमा आन्तिरिक पर्यटनलाई प्रमोट गर्ने जनाएको छ । अहिलेको अवस्थामा बाहिरको पर्यटकको आगमन शुन्य रहेकोले आगमी वर्ष आन्तरिक पर्यटनलाई जोड दिने जनाएको छ । यसका लागि पर्यटन विकास अयोजना तिव्र तयारीमा रहेको उहाँको भनाई छ । यस वर्ष पर्यटनको बजेट पूर्वाधार निर्माणमा रहेको थियो । आगमी वर्षमा पनि पर्यटनका पूवार्धार साथै आन्तरिक क्षेत्रलाई प्रमोट गर्नेगरी बजेट आउने पर्यटन विकास आयोजना बागमती प्रदेशले जनाएको छ ।
त्यस्तै मन्त्रालयले यो वर्ष प्रदेशको ११९ स्थानिय तहमा उद्योग ग्रामलाई अगाडि सार्ने जनाएको छ । उद्योग ग्रामको सहायताले रोजगारी र उत्पादनमा जोड दिने तयारी थालिएको हो । बागमी प्रदेशमा उद्यमीको विकास हुनेगरी बजेट तयार हुदै गरेको मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यस्तै बैज्ञानिक वन व्यवस्था, जलाधार संरक्षण, बाढी, पहिलो नियन्त्रणका लागि पनि योजना रहेको बताइएको छ । आगामी आर्थिक वर्षमा केही बजेट कटौती भएर आएपनि यसपालिको भन्दा फरक ढंगले योजनाहरु आउने श्रेष्ठले बताउनुभयो । मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा रोजागारी र उत्पादनमा जोड दिने उहाँको भनाई छ ।