हेटौँडाः दोस्रो बागमती प्रदेश खेलकुदमा पुरुष क्रिकेट प्रतियोगिताको उपाधि चितवन जिल्लाले जितेको छ । महिला क्रिकेटको उपाधि भने काठमाडौंले जितेको थियो । चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरमाथि ३६ रनको जित निकाल्दै चितवनले स्वर्ण जितेको हो ।
निर्धारित २० ओभरमा १ सय ६७ रनको लक्ष्य पछ्याएको ललितपुरले आठ विकेट गुमाउँदै १३० रन मात्र जोडेपछि चिवतनले सहज जित निकाल्यो । चितवनका बलरले उत्कृष्ट बलिङ गरेपछि ललितपुरका ब्याटर लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । चितवनका बलर दिवस आचार्यले पाँच विकेट लिँदै ललितपुरको इनिङ धरासयी बनाए । उनले चार ओभरमा १५ रन मात्र खर्चिए ।
दीपेश श्रेष्ठले दुई तथा गौतम केसीले एक विकेट लिँदै ललितपुरलाई सस्तैमा रोके । ललितपुरका विवेक रानामगर २७ रनमा नटआउट रहँदा ओपनर आशुतोष घिरैया २५ रन, रोनिम तिवारीले १६ रन र आरस तामाङले १४ रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रनको योगफल जोड्यो । चितवनको सुरुवात भने कमजोर थियो । २ ओभर १ बलमा नै दुई विकेट गुमाउँदा चितवनले ११ रन मात्र जोडेको थियो ।
ललितपुरका बलर प्रसिद्ध बज्राचार्यले ओपनर साकार ढकाल ४ रनमा र सन्तोष न्यौपानेलाई १ रनमा पभेलियनको दिशा देखाएका थिए । तेस्रो विकेटका लागि ओपनर पाल्देन लामा र जेनिस महतले ५३ रनको अर्धशतकीय साझेदारी गर्दै इनिङ सम्हाले । गौतम केसीले ३६ रन, पाल्देनले ३४ रन र जेनिस र प्रतीक श्रेष्ठले समान ३२ रन जोडेपछि घरेलु टोलीले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत ग¥यो ।
ललितपुरका बलर प्रसिद्धले तीन विकेट लिँदा विवेक रानामगरले दुई तथा युनिस थापा र आदिल खानले एक विकेट लिए । प्रतियोगितामा काठमाडौंका इसान पाण्डे प्लेयर अफ दी सिरिज भए । काठमाडौंकै मनोज यादव उत्कृष्ट बलर र चितवनका प्रतीक श्रेष्ठ उत्कृष्ट ब्याटर घोषित भए । विजेतालाई प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीलगायतले पुरस्कार वितरण गर्नुभयो ।