हेटौंडाः मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीमा रहेको चण्डिका माध्यमिक विद्यालयलाई पंखा हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रममा मकवानपुरगढी गाउँपालिका शिक्षा समितिका सदस्य एवम् समाजसेवी रामप्रसाद पुडासैनी र श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरिकुमार हुमागाईंले विद्यालयलाई पंखा हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले जानकारी दिनुभयो ।
विद्यालयलाई रामप्रसाद पुडासैनीले ५ थान र हरिकुमार हुमागााईले ३ थान पंखा हस्तान्तरण गर्नुभएको फुयाँलले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक व्यवस्थापन, स्रोत खोजी तथा व्यवस्थापनलगायतका विषयमा महत्वपूर्ण छलफल तथा अन्तरक्रिया गरिएको उहाँले बताउनुभएको छ । चण्डिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजकुमार लामा गोलेको सभाध्यक्षता, गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्य र वडा नम्बर २ का वडाध्यक्ष बखान सिंह पाख्रिनको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
गत जेठ ३ गते साँझको हावाहुरीले विद्यालयको ३ वटा कक्षाकोठाको छानो पूर्णरुपमा उडाएको थियो । पालिकाको सहयोगमा बिहीबारबाट मर्मत गरिने उहाँले जानकारी दिनुभयो । हावाहुरीबाट ४ वटा सोलार प्यानल, २ वटा फ्यान, शिशु कक्षाको म्याट र साजसज्जा पूर्णरुपमा क्षति भएको थियो ।
