हेटौँडा–११, स्थित बस्तिपुर मा वि ।

हेटौंडाः २०७९ फागुन मसान्तसम्म दिवा खाजामा करिब २ करोड रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७९–०८० का लागि विनियोजन भएको बजेटबाट दिवा खाजा कार्यक्रममा हालसम्म एक करोड ८४ लाख ३८ हजार ९ सय रुपैयाँ खर्च भएको हो ।

दिवा खाजा कार्यक्रमको लागि मकवानपुर जिल्लामा ३ करोड ५३ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । चैतमा विद्यालय तहको वार्षिक परीक्षा र वैशाखमा भर्ना अभियान सञ्चालन गरिएकाले विद्यार्थीले धेरै दिन खाजा नखाएको बताइएको छ । हेटौंडा उपमहागरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालका अनुसार चैत र वैशाखको दिवा खाजाको रकम निकासा हुन बा“की रहेको छ । चैतदेखि असार महिना सम्मको दिवा खाजाबापतको रकम विद्यालयमा विद्यार्थी हाजिरीका आधारमा एकै पटक निकासा गर्ने सम्भावना रहेको उहाँको भनाई छ ।

हेटौंडा उपमहानगरपालिकामा ७५ वटा सामुदायिक विद्यालयका १५ हजार ४९ विद्यार्थी दिवा खाजा कार्यक्रममा सहभागी छन् । आगामी आर्थिक वर्ष २०८०÷०८१ को दिवा खाजा कार्यक्रममा ७३ वटा विद्यालय समेटिने बताइएको । २ वटा विद्यालय मर्ज भइसकेकाले ती विद्यालय आउँदो कार्यक्रममा नसमेटिने उहाँले जानकारी दिनुभयो । कक्षा १ देखि ६ सम्मका विद्यार्थीले दैनिक १५ रुपैयाँ दिवा खाजा कार्यक्रमका लागि अनुदान पाउनेछन् ।

दिवा खाजाबापतको रकम निकै कम भएकाले बढाउन उपमहानगरलाई विभिन्न निकायले ध्यानाकर्षण गराउँदै आएका छन् । तर उपमहानगरले दिवा खाजा रकम बढाउन सकेको छैन । प्रमुख रिमाल भन्नुहुन्छ । संघीय सरकारको कार्यक्रमअन्तर्गत् उक्त कार्यक्रम स्थानीय सरकारलाई तोकिएको छ । बजेट संघीय तहले तोकिएका हुन्छन् । जसले गर्दा उपमहानगरले रकम बढाउन तत्काल नमिलेको स्पष्ट पार्नुभयो । उहाँकाअुसार विभिन्न तहका निकायसँग छलफल भइरहेको र उक्त विषयलाई नीति तथा कार्यक्रममा समेटिने प्रयास गरिनेछ ।

२०८०÷०८१ को नीति तथा कार्यक्रमका विषयमा छलफल तथा सुझाव संकलन भइरहेका छन् । विद्यार्थी, महिला, राजनीतिक पार्टीसँग सुझाव संकलन भइसकेका छन् । विद्यालय व्यवस्थापन समितिसँग बुधबार नीति तथा कार्यक्रमका विषयमा छलफल गरिनेछ । सोही दिन सामाजिक समितिको बैठक बस्नेछ । यस्तै, एक साताभित्र विद्यालयका प्रधानाध्यापकहरुसँग पनि छलफल गरिनेछ ।

विभिन्न निकायसँग आगामी छलफलपश्चात् सुझावको आधारमा आगामी नीति तथा कार्यक्रम निर्माणको तयारीमा उपमहानगर लाग्नेछन् । जसमा सर्वसुलभ अनुशासन र गुणस्तरीय शिक्षालाई जोड दिइने उहाँले बताउनुभयो । यसअघिका शैक्षिक सत्रमा सर्वसुलभ र गुणस्तरीय शिक्षाअन्तर्गत् लाइब्रेरी, सूचना प्रविधि, विज्ञान प्रयोगशाला, नमुना बालविकास केन्द्र, शैक्षिक सामग्री वितरण, शैक्षिक गुणस्तर सुधार, फर्निचर निर्माणजस्ता कार्यक्रमलाई जोड दिएका थिए ।