हेटौंडाः बागमती प्रदेशसभाको १२ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक बर्ष २०८०/०८१ को विनियोजित विधेयकका सिन्द्धान्त र प्राथमिकता पेश भएको छ ।

मंगलबारबाट सुरु भएको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विद्येयक २०८० को सिद्धान्त र प्राथमिकताको क्षेत्र (कर बाहेक) सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो । उक्त प्रस्ताव माथि छलफलका लागि प्रदेशसभा बैठकले स्विकृति समेत दिएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विद्येयक २०८० को सिद्धान्त र प्राथमिकताको क्षेत्र (कर बाहेक) सम्बन्धी प्रस्तावमाथि बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुनेछ ।

प्रस्ताव पेश गर्दै मन्त्री लामाले संविधानमा निर्देशीत राज्यको निर्देशक सिन्दान्त र नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक अनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड दिँदै आगामी आर्थिक बर्षको बजेट तर्जुमा गरिने बताउनुभयो । उहाँले आगामी आर्थिक बर्षको बजेट मार्फत प्रदेशमा आर्थिक असमानता अन्त्य गर्ने, उद्यमशीलता विकासमा बजेट विनियोजन गर्ने, पर्यटनलाई प्रदेशको विशेष आर्थिक क्षेत्रको रुपमा विकास गरिने र पर्यटन क्षेत्रमा रोजगारीका अवसर निर्माणमा बजेट केन्द्रीत रहने बतानुभयो । यस्तै उहाँले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा नीजि क्षेत्रसंग थप सहकार्य गर्ने र सार्वजनिक सेवा प्रवाहमा प्रदेश सरकारले गर्ने लगानी अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले प्रदेशको संस्थागत विकासमा बजेट केन्द्रीत रहने दावी गर्नुभयो ।

यसअघि बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्राप्त अधिवेशन आव्हान सम्बन्धी पत्र, मन्त्रालयको कार्यभार परिवर्तन सम्बन्धी पत्र, मन्त्रिपरिषद् विस्तार तथा पूनर्गठन एवं कार्य विभाजन सम्बन्धी पत्र, विधेयक प्रमाणीकरण सम्बन्धी पत्र, विधेयक फिर्ता सम्बन्धी पत्र प्रस्तुत गरिएको थियो ।

बैठकमा प्रदेश सभा सदस्यहरु नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका मधुसुदन पौडेल, नेकपा माओवादी केन्द्रका राधिका तामाङ, राप्रपाका उद्धव थापा, नेकपा एकीकृत समाजवादी पार्टीका कृष्णप्रसाद शर्मा खनाल, नेमकीपाका सुरेन्द्रराज गोसाई र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले आफ्नो धारणा राखेका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक कुन्दनराज काफ्लेले प्रदेश सरकारले नागरिकको पक्षमा काम गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नागरिकहरुसम्म सेवा सुविधाको पहुँच पुर्याउन आवश्यकताका आधारमा संविधान संशोधन गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।

नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रदेश सरकार सिमित व्यापारीहरुको प्रभावमा परेको बताउनुभयो । उहाँले सरकार व्यापारी र विचौलिया पोस्न सकृय रहेको आरोप लगाउनुभयो । उहाँले प्रदेश सरकारले ल्याएको चिठ्ठा विधेयकले व्यापारीहरुको कालो धनलाई सेतो बनाउने दावी गर्नुभयो । सरकारले २०४६ साल पछिका सबै भ्रष्टाचारका केशहरुमा छानविन गर्नुपर्ने उहाँको धारणा छ ।

मााअ‍ेवादी केन्द्रकी सांसद राधिका तामाङले नेता र नेतृत्वको कारणले वर्तमान व्यवस्था माथि नै असन्तुष्टि बढेको बताउनुभयो । उहाँले दलिय स्वार्थ त्यागेर जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो । सरकारले नीति तथा कार्यक्रम अनुसारकै बजेट विनियोजन गरेर अघि बढ्नु पर्ने उहाँको भनाई छ ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारले बजेटमा आफ्ना विषयहरु नसमेटेको खण्डमा रोष्टम घेर्ने र बजेट पास गर्न नदिने चेतावनी दिनुभयो । मन्त्रीको संख्या बढाएको प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । आफ्नो पार्टी सरकारमा हुँदा १४ वटा मन्त्रालय घटाएर ११ बनाएकोमा अहिले फेरी मन्त्री बढाएर मन्त्रालय फुटाउने तयारी भइरेको भन्दै उहाँल असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण प्रसाद शर्मा खनालले संविधान र संघीयता कार्यान्वयनमा सरकार गम्भिर भएर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले जनताको जीवनस्तर सुधार गर्ने प्रकृतिका कार्यक्रमहरु ल्याएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।

नेमकीपाका नेता सुरेन्द्रराज गोसाईले देशको अर्थतन्त्र संकटमा रहेकाले सरकारले मन्त्रिमण्डल थप गरेर गलत गरेको बताउनुभयो । उहाँले सरकारले भागबण्डालाई नै आफ्नो प्राथमिकताको क्षेत्र निर्धारण गरेको भन्दै यसले आम नागरिकहरुमा नकरात्मक सन्देश प्रवाह भइरेकको बताउनुभयो ।

हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्रमान बज्रचार्यले युवा पुस्ताहरु वर्तमान राजनीतिक अस्थिरताबाट आजित बनेको बताउनुभयो । देशमा नै केही अवसरको खोजिमा रहेका युवाहरु राजनीतिक खिचातानीका कारण पलायन हुने अवस्थामा पुगेको उहाँको भनाई छ ।