सरकारी स्वामित्वको नेपाल खानेपानी संस्थानको हेटौंडा शाखा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको १० वर्ष पुगेको छ । २०७० जेठ ८ गते खानेपानी संस्थानलाई स्वायत्त र स्वतन्त्र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको थियो । खानेपानी संस्थान बोर्डमा रुपान्तरण भएपछि हेटौंडा बजार क्षेत्रको खानेपानी वितरणमा सुधार हुँदै आएको छ । खानेपानी व्यवस्थापन बोर्डले खानेपानीका थप स्रोतहरुको उपयोग गरी पानी संकलन र खानेपानी आपूर्तिमा वृद्धि गर्दै गइरहको छ । तिब्र शहरीकरणसँगै बढ्दो ग्राहक संख्या र जनसंख्याका कारण खानेपानीको आपूर्तिमा चुनौती कायमै रहेको अवस्थामा धेरै स्रोतहरुबाट खानेपानी संकलन गरेर वितरण कार्य भइरहेको छ । खानेपानी व्यवस्थापन बोर्डले पछिल्लो समय आफ्नो कार्यक्षेत्रसमेत विस्तार गर्दै गइरहेको छ । हेटौंडा उपमहानगरपालिकाले करिब एक वर्ष अघिदेखि मासिक १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउन थालेपछि उपभोक्ता समितिमार्फत् सञ्चालन भइरहेका खानेपानी आयोजनाहरु बोर्डमा हस्तान्तरणको क्रमले पनि तिब्रता पाएको छ ।
मानवको आधारभूत आवश्यकतामा पर्ने खानेपानीको पर्याप्त आपूर्तिका लागि चुनौती बनिरहेको छ । हेटौंडा उपमहानगरपालिकाको केही वडाहरुमा खानेपानी आपूर्ति सहज भए पनि १९ वटै वडाको सबै उपभोक्तालाई खानेपानी वितरण गर्नु चुनौतीपूर्ण छ । हेटौंडामा खानेपानीको पर्याप्त आपूर्तिका लागि पानीको ठूलै स्रोतको व्यवस्थापन गर्नुपर्छ । अहिले बोर्डमार्फत वितरण भइरहेका र अन्य आयोजनाले भूमिगत र साना स्रोतबाट खानेपानी आपूर्ति गरिरहेको छ । अहिले बोर्डले दैनिक एक करोड ८८ लाख लिटर खानेपानी उत्पादन गरेर ३५ हजार ५ सय उपभोक्तालाई वितरण गरिरहेको छ । बोर्डले २६ वटा डिप बोरिङ र ७ वटा जमिनको सतहमा पानी संकलन गरी वितरण गरिरहेको छ । हेटौंडा उपमहानगरपालिकाको स्थायी बासिन्दा २ लाख र अस्थायी बासिन्दासमेतका लागि खानेपानीको सहज आपूर्तिका लागि अहिले प्रयोग भइरहेको स्रोतबाट मात्र सम्भव छैन । यसका लागि दैनिक करोडौं लिटर पानी उपलब्ध हुने खोला वा ठूलो क्षमताको भूमिगत पानीको स्रोत परिचालन गर्नु आवश्यक छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका उपभोक्तालाई खानेपानीको न्यूनतम् महसुल छुट दिने व्यवस्थाले बोर्डप्रति उपभोक्ताको आकर्षण बढेको छ । जसले खानेपानी उपभोक्ता समितिहरु बोर्डमा गाभिन आकर्षित भएका छन् । न्यूनतम महसुल छुट गर्न थालेपछि हेटौंडा–१० स्थित न्यूरेनी खानेपानी तथा सरसफाई उपभोक्ता समिति, हेटौंडा–१८ स्थित हर्नामाडी डिप बोरिङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति र हेटौंडा–६ स्थित कल्याणटार खड्कुले खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा आवद्ध भइसकेका छन् । हेटौंडा–३ स्थित मिलनटोल खानेपानी उपभोक्ता समिति, हेटौंडा–१३ स्थित पदमपोखरी ठूलोथली खानेपानी तथा सरसफाई उपभोक्ता समिति र हेटौंडा–१५ स्थित भोर्ले जाँते पनेस क्षेत्रको खानेपानी उपभोक्ता समितिहरु बोर्डमा हस्तान्तरण हुने क्रममा रहेका छन् ।
खानेपानी वितरणलाई थप प्रभावकारी बनाउन हेटौंडा उपमहानगरपालिकाले दीर्घकालीन योजनाको रुपमा ४ वटा ठूला योजना संघीय सरकारसमक्ष पेश गरेको छ । हेटौंडा उपमहानगरले मासिक १० हजार लिटर खानेपानीको महशुल छुट दिएसँगै बोर्डप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा बोर्डलाई भने खानेपानी सहज आपूर्तिमा चुनौती बनिरहेको छ । यसका लागि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले धेरै ठाउँबाट थोरैथारै पानी आपूर्ति गरेरै भए पनि आफ्नो कार्यक्षेत्रमा खानेपानीको सहज वितरणको प्रयास गरिरहेकै छ । तर पनि हेटौंडा उपमहानगर क्षेत्रमा उपभोक्ताको मागअनुसार खानेपानी आपूर्ति हुन सकेको छैन । हेटौंडा उपमहानगरपालिकाले नगरबासीलाई खानेपानी सुविधा उपलब्ध गराउन बोर्डलाई आवश्यक सहयोग गर्दै आएको छ । प्रत्येक वर्ष थपिने जनसंख्या र बोर्डका ग्राहकका लागि थप खानेपानी आपूर्तिका लागि उपमहानगरपालिका र बोर्ड मिलेर खानेपानीको ठूला आयोजना निर्माण गर्नु आवश्यक देखिन्छ ।