शुक्रबार निमचोकमा भ्रष्टाचारविरुद्धको कविता वाचन गर्नुहुँदै मिथिला अधिकारी ।

हेटौँडाः सर्जक सञ्जाल मकवानपुरको अग्रसरतामा भ्रष्टाचारविरूद्ध सप्ताहव्यापी रचनावाचन अभियानको छैठौं दिन शुक्रबार हेटौँडा–८, निमचोकमा रचना वाचन गरिएको छ । निमचोकमा १४ जना सर्जकले रचना वाचन गरे । मिथिला अधिकारी, अनिल अधिकारी, सुदीपराज गिरी, शम्भुप्रसाद बाँस्कोटा, शान्ति प्रियवन्दना, संप्रस पौडेल, सानु खनाल, हरि पौड्याल, मीनप्रसाद लामिछाने, किशोर खत्री, धर्मराज पुडासैनी, भगवती आचार्यले रचना वाचन गर्नुभयो ।

भ्रष्टारविरुद्धको चोक–चोकमा रचना वाचनको अभियान छैठौं दिन निमचोकमा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो भने रचना वाचन गर्ने स्थानीयको सहभागिता पनि उल्लेख्य थियो । स्थानीयको उल्लेख्य उपस्थितिकै कारण नियमित सहभागी केही साहित्यकारको प्रस्तुतीको अवसर पाएनन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, गृहमन्त्री र बहालवाला सचिवसमेत संलग्न रहेको पाइएपछि साहित्यकारहरु भ्रष्टाचारको विरोधमा सडकमै उत्रिएका हुन् । निमचोकमा रचनावाचन कार्यक्रमलाई सुन्न सहभागी हुने स्थानीयको संख्या पनि उल्लेख्य थियो ।

कार्यक्रममा वडाअध्यक्ष रामकृष्ण थापाले आफू भ्रष्टाचार नगर्ने हुँदा यत्तिका चोटिला कविताले पनि आफूलाई कतै नघोचेको बताउनु भयो । साथै सर्जकहरूको साथमा आफू पनि रहेको बताउँदै आफ्नो क्षेत्रमा कार्यक्रम भएकोमा धन्यवाद दिनुभयो । निमचोकको कार्यक्रम विश्वनाथ सञ्जेलले सहजीकरण गर्नुभएको थियो । बैशाख ३१ गतेबाट सुरु भएको भ्रष्टाचारविरुद्धको खुला रचनावाचन कार्यक्रम यसअघि हेटौंडा–१०, बुद्धचोक, हेटौंडा–४, शितलमहलचोक, हेटौंडा–२ संगमचोक, हेटौंडा–६ चौघडा र हेटौंडा–१६ हटियाचोकमा भइसकेको छ । भ्रष्टाचारविरुद्ध साहित्यकारहरुले कविता, गीत, गजल, मुक्तक, कथा वाचन गरिरहेका छन् । साताव्यापी कार्यक्रमको समापन आज शनिबार बेलुकी बुद्धचोक हुने सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले जानकारी दिनुभएको छ ।