हेटौँडाः हेटौंडामा आज बिहिबारदेखि हेटौँडा महिला खेल महोत्सव सञ्चालन हुँदैछ । उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुने प्रतियोगिता अन्तर्गत बिहीबार चार खेल सञ्चालन हुनेछ ।

बिहीबारको पहिलो खेलमा हेटौंडा महिला रन प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता हेटौंडा–४ स्थित हुप्रचौरमा बिहान ७ बजे सुरु हुनेछ । २ किलोमिटर दुरीमा हुने दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । यस्तै, सान्त्वनास्वरुप दुई जनालाई ५–५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । प्रतियोगितामा मकवानपुर जिल्लाभित्रका महिलाहरुले सहभागिता जनाउन पाउनेछन् । यसअघि उपमहानगरपालिकाले गत बैशाख ३ गते नयाँ वर्षको अवसरमा हेटौंडा पुरुष रन प्रतियोगिताको आयोजना गरेको थियो ।

बिहीबार हुने दोस्रो खेलमा महिला स्लो स्कुटी प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । प्रतियोगता हुप्रचौरमा बिहान ९ बजे सुरु हुनेछ । प्रतियोगतामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार ५ सय र तृतीय हुने दुई जनालाई ५–५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा नगरभित्रका महिलाले मात्र सहभागिता जनाउन पाउनेछन् ।

बिहीबारको तेस्रो खेलमा हेटौंडा महिला म्युजिकल चियर प्रतियोगिता हुने जनाइएको छ । हुप्रचौरमा हुने प्रतियोगिता दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगतामा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ८ हजार रुपैयाँ र तृतीय हुनेले ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, चौथो हुनेले ४ हजार र पाँचौं हुनेले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा नगरभित्रका महिलाहरुले सहभागिता जनाउन पाउनेछन् ।

बिहीबार हुने चौथो खेलमा समूहमा महिला डोरी तानातान प्रतियोगिता सञ्चालन हुनेछ । हुप्रचौरमै हुने प्रतियोगिता दिउँसो ४ बजे सुरु हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने द्वितीय समूहले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा नगरभित्र स्थापित महिलाहरुको टिम संघसंस्थाले सहभागिता जनाउन पाउनेछन् ।

खेल महोत्सवको दोस्रो दिन शुक्रबार बिहान ७ बजे हुप्रचौरमा फुटसल प्रतियोगिता हुनेछ । प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । शुक्रबारको दोस्रो खेलमा भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता दिउँसो २ बजे हुप्रचौरस्थित भलिबल कोर्टमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खेल महोत्सवको अन्तिम दिन शनिबार महिला ‘७’ ए साइड फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगता बिहान ७ बजे हुप्रचौरमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।