बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही जेठ ७ गतेबाट दोस्रो संस्करणको प्रदेश खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा १३ जिल्लाका २ हजार ५ सय २ जना खेलाडीले १३ खेलमा २ सय १९ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोेगिता आयोजक समितिले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरेर तयारीका बारेमा जानकारी गराएको छ । प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशको खेलकुद विकासकै लागि भनेर प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लामा ९ वटा खेल आयोजना गरिनेछ भने काठमाडौंमा दुईवटा, चितवन र ललितपुरमा एक एक वटा खेल खेलाइनेछ ।
प्रदेशस्तरीय खेलकुद ४ वटा जिल्लामा हुँदैछ । प्रदेश खेलकुद ४ जिल्लामा गर्नुपर्ने प्रमुख कारण भनेको खेल पूर्वाधार हो । प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लामै खेल पूर्वाधार भएको भए मकवानपुरमै सवै खेलको आयोजना हुने थियो । यसले आयोजक, सहभागी खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई समेत सहज हुने थियो । मंगलबार सामाजिक विकास मन्त्रालयको सभाकक्षमा सामाजिक विकासमन्त्री कुमारी मुक्तानको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जेठ ७ गते उद्घाटन हुने प्रतियोगिताअन्तर्गत हेटौँडा–६ स्थित गौरिटार रंगशालामा महिला फुटबल हुनेछ । पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल र एथ्लेटिक्स, हेटौंडा–४, हुप्रचौरमा महिला र पुरुष भलिबल, रग्वी, कराँते, तेक्वान्दो र आइटिएफ तेक्वान्दो, हेटौँडा–४ स्थित कभर्डहलमा बक्सिङ, हेटौंडा–११ स्थित कभर्डहलमा व्याड्मिन्टन, उसु र जुडो काठमाडौंमा, पौडी ललितपुरमा र क्रिकेट चितवनमा हुने जानकारी सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।
परिषद्ले प्रतियोगिता आयोजना गर्नुलाई कठिन कार्यको रुपमा व्याख्या गरेको छ । परिषद्ले प्रतियोगिता आयोजना गर्ने बाहेक पछिल्लो एक वर्षमा र चालु आर्थिक वर्षको बाँकी अवधिमा पनि खेल पूर्वाधारमा भने उल्लेखनीय लगानी गर्ने अवस्था देखिँदैन । खेलकुदमार्फत अन्तर्राष्ट्रिय समुदायमा मुलुकको नाम राख्न सकिने बताउँदै आए पनि अन्तर्राष्ट्रिय त के राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगिता आयोजनाका लागि पूर्वाधारको अभाव हुनु गम्भीर विषय हो । खेल पूर्वधारको अभावका विषयमा पनि चिन्ता र चासो लिई पूर्वाधार विकासमा पनि प्रदेश सरकारले लगानी गर्नु आवश्यक छ । दोस्रो संस्करणको प्रतियोगिता आयोजना हुने खेल पूर्वाधार भनेको हेटौंडा उपमहानगरपालिका, मकवानपुर जिल्लाका नागरिकस्तरबाट निर्माण भएका संरचनाहरु हुन् । प्रदेश सरकार गठन भएको ६ वर्ष पूरा भइसक्दा पनि पूर्वाधार तयार नहुनु बिडम्बनाको विषय हो ।
परिषद्का सदस्य सचिवले केही विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र छिट्टै लगानी गरिने बताउनुभएको छ । दोस्रो संस्करणको प्रतियोगिता आयोजनाका लागि ९ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको सन्दर्भमा पूर्वाधार निर्माणमा पनि परिषद्ले उल्लेखनीय बजेट विनियोजन गर्ने अवस्थालाई सुनिश्चितता गर्न सके आगामी दिनमा प्रदेश खेलकुद प्रतियोगिताको लोकप्रियता र प्रभावलाई बढाउन सकिने थियो । प्रदेश खेलकुद प्रतियोगिताको प्रयोजन पनि सार्थक बन्ने थियो ।