हेटौंडाः आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम तय गर्ने गरी बागमती प्रदेश युवा परिषद्को बोर्ड बैठक बुधबार बसेको छ । बैठकको अध्यक्षता बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको अध्यक्षतामा बसेको हो । सामाजिक विकासमन्त्री प्रदेश युवा परिषद्को अध्यक्ष हुने व्यवस्था छ ।
बैठकले साढे १४ करोड रुपैयाँ बराबरको बजेटसहित विविध कार्यक्रमहरु प्रस्ताव गर्ने निर्णय गरेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षमा परिषद्को बजेट साढे ५ करोड रुपैयाँ रहेको थियो । बैठकमा आगामी आर्थिक वर्षका लागि प्रदेश युवा परिषद्मा शिक्षा र तालिमका कार्यक्रमहरु, शिक्षा र कल्याण, युवा सशक्तीकरण, साँस्कृतिक, साहित्यिक र कलाको संरक्षण र सम्बर्धनका विषयहरुलाई प्राथमिकतामा राख्ने विषयमा छलफल भएको थियो ।
यस्तै खेलकुद मनोरन्जन, दिगो विकासका कार्यक्रम, नागरिक संलग्नता तथा स्वयंसेवा कार्यक्रम एवम् विपद व्यवस्थापन, प्रविधि र नवप्रवर्तन, वित्तीय सारक्षरता कार्यक्रम युवा वर्गलाई लक्षित गरी सञ्चालन गनुपर्ने विषयलाई पनि प्राथमिकता राख्ने प्रस्ताव गरिएको परिषद्का कार्यकारी उपाध्यत्तक्ष सन्तोष चौलागाईले जानकारी दिनुभएको छ । युवा वर्गको व्यक्तित्व विकास, समाजमा शान्ति सुव्यवस्था र अमनचयन कायम गर्न युवाको भूमिका, लैङ्गिक समानता र सबै प्रकारको विभेदको अन्त्य, मानवअधिकार, मिडिया र संचार कार्यक्रम, ग्रामीण विकास कार्यक्रमहरु बजेटमा समावेश गर्नुपर्ने विषय पनि प्राथमिकतामा राखिएको छ । यस्तै प्रदेश युवा परिषद् ऐन र बागमती प्रदेश युवा नीति जारी भइसकेकाले युवाको संख्यात्मक, गुणात्मक विकास र सर्वाङ्गिण विकासका लागि कार्यक्रम आवश्यक रहेको कुरा परिषद्का कार्यकारी उपाध्यक्षल सन्तोष चौलागाईँले बैठकमा जानकारी गराउनुभएको थियो ।
परिषद्को बैठकमा छलफल भएका विषयलाई प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने मन्त्री कुमारी मुक्तानले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । परिषद्ले विगत र चालु आर्थिक वर्षमा युवालाई उद्यमशीलतामा जोड्ने, युवा परिचालन, परम्परागत सीपको संरक्षण प्रवर्धन लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । बैठकमा छलफल भएका विषयलाई आगामी आर्थिक वर्षमा प्रभावकारी ढङ्गले निरन्तरता दिने लक्ष्य प्रदेश युवा परिषद्को राखेको कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी दिनुभएको छ ।
युवा परिषद्ले चालु आर्थिक वर्षमा प्रदेशका १ सय १९ वटै पालिकामा खटिने गरी १ सय ३४ जना प्रदेश युवा स्वयंसेवक कार्यक्रम सुरु गरेको छ । २५० जनालाई रोजगारी सुनिश्चिततासहित तालिम सञ्चालन गरेको परिषद्ले २५० जनालाई उद्यमशीलता विकासको अवसर प्रदान गरेको छ । महिलाका लागि आत्मरक्षा तालिम सञ्चालन गर्न २६ जना प्रशिक्षक तयार पारेर प्रदेशका १३ वटै जिल्लामा ५ सय २० जना प्रशिक्षक तयार पारिएको कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय र नास्टसँग सहकार्य गरी चालु आर्थिक वर्षमै युवा वैज्ञानिक सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईले भन्नुभयो, “युवाका लागि नमूना युवा संसद कार्यक्रम सञ्चालन गर्नु महत्वपूर्ण उपलब्धी हो । साथै परम्परागत सीपको संरक्षण र प्रवद्र्धन गरिएको छ । द्वन्द्वपीडित, अपाङ्गता भएका, घाइते युवा लक्षित कार्यक्रम पनि गरेका छौं ।”
बैठकमा सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पूडासैनी, युवाको क्षेत्र हेर्ने महाशाखा प्रमुख खुबिराम अधिकारी, महाशाखा प्रमुख गोपाल प्रसाद कँडेल र परिषद्का सदस्यहरुको उपस्थिति रहेको थियो ।