हेटौंडाः जेसीआई हेटौंडाले ‘जेसीज सप्ताह २०२३’ भोलि शनिबारदेखि सुरु गर्दैछ । जेसीआई हेटौंडाले शुक्रबार पत्रकार सम्मेलन गरेर शनिबारदेखि शुक्रबारसम्म जेसीज सप्ताह हुने जानकारी दिएको छ ।
जेसीआई हेटौंडाका अध्यक्ष श्रवण कुमार बर्तौलाले जेसीजले हरेक वर्ष महान पर्वको रुपमा जेसीज सप्ताह कार्यक्रम गर्दै आएको बताउनुभयो । जेसीआई हेटौंडाका कार्यकारी उपाध्यक्ष अमृत बर्ताैलाले कार्यक्रमको बारेमा जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटनको दिन शनिबार हेटौंडा–५, पिप्लेदेखि मनकामना मन्दिरसम्म मनकामना अपहिल साइक्लिङ प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने छ ।
यस्तैै आइतबार रक्तदान कार्यक्रम, सोमबार अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता, मंगलबार अम्बिकादेवी कार्की स्मृति हाजिरिजवाफ प्रतियोगिता हुने छ । हाजिरिजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ९ हजार, ६ हजार र ३ हजार प्राप्त गर्ने छन् । बुधबार स्लो मोटरसाइकल प्रतियोगिता हुने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले हेल्मेट प्राप्त गर्ने छन् । यस्तै, बिहिबार हेटौंडा–१५, चिप्लेटीमा शैक्षिक सामग्री वितरण कार्यक्रम हुनेछ । अन्तिम दिन अगामी शुक्रबार समापन कार्यक्रम हुने बताइएको छ ।
