हेटौंडाः आगामी आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि जनस्तरबाट सुझाव संकलन गर्न हेटौंडा उपमहानगरपालिकाले क्युआर कोड सार्वजनिक गरेको छ । बिहीबार उपमहानगरपालिकाले बजेट निर्माणमा सुझावका लागि सबै मानिस कार्यालयमा उपस्थित हुन नभ्याउने अवस्थालाई मध्येनजर गर्दै क्युआर कोड सार्वजनिक गरेको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमरी लामाले बताउनुभयो ।
संघीय सरकारबाट आउने बजेट अघिल्लो वर्षको भन्दा घटेर आएको बताउनुहुँदै नगर प्रमुख लामाले आगामी आर्थिक बर्षका लागि उत्पादनमा जोड दिएर बजेट निर्माणको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाले केही दिनदेखि आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि आवश्यक तयारी गर्दै आएको छ ।
उपमहानगरले विभिन्न चरणमा विभिन्न विषयगत समितिहरु÷शाखा÷महाशाखागत रुपमा बजेट निर्माणको विषयमा छलफल गर्दै आएको छ । नीति, कार्यक्रम तथा बजेट प्राविधिक दृष्टिले सामाजिकरूपमा सन्तुलित एवम् राजनैतिकरूपमा स्वीकार्य विकास प्राप्तिका लागि समन्वय कायम गर्नुपर्ने हुन्छ । विकासका साझा गन्तव्य÷प्राथमिकता चयन गर्नुपर्ने भएकाले आगामी नीति, कार्यक्रम तथा बजेटप्रति नगरबासीहरुको धारणा एवम् महत्वपूर्ण सुझाव क्युआरमार्फत् संकलन गर्ने निर्णय गरेको नगर प्रमुख लामाले बताउनुभयो । अघिल्लो आर्थिक वर्षहरुमा यस्ता खालको सुझाव संकलन नभएकोमा यस बर्ष सुरुवात गरेको नगर प्रमुख लामाको भनाइ छ ।
हेटौंडा उपमहानगरले सुझाव संकलनका लागि प्रविधिको प्रयोग गरे पनि सर्वसाधारणले भने सुझाव संकलनको औचित्यमाथि नै प्रश्न गरेका छन् । उपमहानगरले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक आव्हान गरिरहँदा कमेन्टमा उपमहानगरले जथाभावी बजेट बाँड्ने गरेको आरोप लगाएका छन् ।
