बाल श्रम प्रयोग भए, नभएको अनुगमन गरिँदै।

हेटांैडाः हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने मिति नजिकिँदैछ । तर, हेटौंडा उपमहानगर क्षेत्रमा बालबालिकाको अवस्था निकृष्ट छ । बालमैत्री पालिका घोषणाका लागि वृहत तयारी जरुरी छ । तर, प्रदेशको राजधानी सहरमा बालमैत्री पालिका घोषणाका लागि गम्भीर घटनाहरु सतहमा देखिने अवस्था छ । केहीदिनदेखि सरोकारवाला निकायले बालश्रम प्रयोग भएको अवस्थाको सघन निगरानी गरिरहेको छ भने केहीलाई कारवाही समेत गरेको छ ।

बालबालिकालाई निकृष्ट काममा लगाउने हेटौंडाका तीनवटा होटल सञ्चालकलाई सोमबार कारवाही गरिएको छ । हेटौंडा–१०, बसपार्क क्षेत्रका होटलमा बालबालिकालाई निकृष्ट काममा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय हेटौंडाले सोमबार तीन वटा होटल सञ्चालकलाई कारवाहि गरेको हो । श्रम कार्यालयले धादिङ, डाँफे र गण्डकी होटलका सञ्चालकलाई कारवाही गरेको छ । श्रम कार्यालय हेटौंडाका अनुसार ११ बर्षकी बालिकालाई श्रममा लगाउने धादिङ होटललाई ७ हजार रुपैयाँ, १५ वर्षीय बालकलाई काममा लगाउने डाँफे होटल र १६ वर्षीया बालिकालाई काममा लगाउने गण्डकी होटललाई ३÷३ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

जरिवाना तिर्दै उनीहरुले आगामी दिनमा होटलका बालश्रमको प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाएका छन् । बैशाख २० गते बसपार्क क्षेत्रका होटलमा बालश्रममा लगाइएको ४ जनाको उद्दार गरिएको थियो । उद्दार गरिएका मध्य एक जना जन्मदर्ताका आधारमा परिवारमा पुनस्र्थापना भएका छन् भने अन्य तीन जनालाई सोमबार श्रम कार्यालयमा बालश्रमबारे आवश्यक परामर्शसहित परिवारको जिम्मा लगाइएको हो । उपमहानगरको नगर बाल अधिकार समिति अन्तर्गतको बालश्रमिक उद्दार तथा पुनस्र्थापना उपसमितिको नेतृत्वमा गएको अनुगमन टोलीले बसपार्कका तीन वटा होटलबाट कानुनविपरित श्रम गर्न बाध्य बालबालिकाहरुको उद्दार गरेको थियो ।

अनुगमन टोलीले कैलाश गाउँपालिका घर भई विगत १० महिनादेखि बसर्पाकस्थित डाँफे होटलमा काम गरिरहेका १५ वर्षीय बालक, डाँफे होटलबाटै भीमफेदी गाउँपालिका–६, माण्डु घर भएकी १५ वर्षीया बालिका, धादिङ होटल एण्ड लजबाट धादिङको रोराङ गाउँपालिका घर भएकी १३ वर्षीया बालिका र गण्डकी होटल एण्ड लजबाट भीमफेदी–५ सुपिङ घर भएकी १५ वर्षीया बालिकाको उद्दार गरेको थियो ।

बालश्रम ऐन (निषेध तथा नियमित) २०५६ अनुसार १४ बर्ष भन्दा कम उमेरका बालबालिकालाई श्रममा प्रयोग गर्न नपाउने व्यवस्था रहेको छ भने १४ देखि १८ बर्ष समुहको हकमा श्रम कार्यालयबाट श्रम अनुमती लिएर प्रयोग गर्न पाउने प्राबधान भएपनि उनिहरुलाई निकृष्ट श्रममा प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको छ । यदी कानुन उल्लंघन गरेका ३ महिना कैद वा ५० हजार रुपियँसम्म जरीवाना वा दुबै हुने व्यवस्था छ ।

उपमहानगरको प्रारम्भिक चरणको तथ्याङक अनुसार हेटौंडामा ६३ जना श्रमिक बालवालिका रहेका छन् । उनिहरुलाई बालश्रममा प्रयोग नगर्नका लागि सम्बन्धित ठाउँमा जानकारी गराइसकेको बताइएको छ । यदि बालश्रमको प्रयोग भएको पाइएमा उद्दार र जरिवानासहित कानुनी कारवाही गरिने उपमहानगरले जनाएको छ । उपमहानगरले बालमैत्री पालिका घोषणाका लागि थालेको तयारीमा सबैलाई सहकार्यका लागि आवहन गरेको छ ।
बालश्रम नियमनका लागि हेटौंडा उपमहानगरपालिकाको बालअधिकार समिति अन्तर्गत बालश्रम अनुगमन उपसमितिका संयोजक सुरज बतौंलाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक चुडाकुमारी खड्का, श्रम कार्यालयका भीम शर्मा, नगर बालमैत्री सहजकर्ता सपना ढु्ंगाना, सिविनका झबेन्द्र ज्ञावली, सिएससी नेपालका कल्याणी बस्नेत, महिला तथा बालबालिका सरोकार केन्द्र तजविज गर्तौला र टाइनी हेन्स एलिना स्याङको सहितको अनुगमन टोली निर्माण गरेको छ ।