निर्माणाधिन अवस्थाको तरकारी बजार क्षेत्र ।

हेटौंडाः हेटौँडामा निजी क्षेत्रको अग्रसरतामा कृषि बजार सन्चालनको तयारी हुँदैछ । त्रिवेणी भेजिटेबल मल्टी प्रालिले हेटौँडा–४ मा कृषि बजार सन्चालनका लागि स्टल निर्माण कार्य भइरहेको छ ।

हेटौंडा–४ स्थित नारायणी मलदेखि उत्तरतर्फ ७ कठ्ठा जमिन भाडामा लिएर कृषि बजार सञ्चालनमा ल्याउन लागेको सञ्चालक प्रिन्स बलले जानकारी दिनु भएको छ । ६ जना युवाले ३ करोड लगानीमा हेटौँडा कृषि बजार सञ्चालनमा ल्याउन लागेको बताइएको छ । हेटौंडा–१० स्थित थोक तरकारी बजार हेटौंडा–१, राप्तीकिनारमा सरेपछि उपभोक्तालाई केही असहज भइरहेको बेला हेटौंडा बजारको मुख्य क्षेत्रमा निजी क्षेत्रबाट बजार सन्चालन गर्न लागिएको हो ।

यसअघि यो समूहले चितवनको तरकारी बजार र काठमाडौँको बल्खु तरकारी बजारको बारेमा अध्ययन गरेको बताएका छन् । १७५ वटा स्टलहरु बन्ने र १० फिटको बाटो तथा आकर्षक पार्किङको व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो । बैशाख ५ गतेबाट संरचना बनाउन सुरु गरेको र जेठ मसान्तसम्म संरचना बनाइसक्ने सञ्चालकहरुको योजना छ । असारको पहिलो हप्ता उद्घाटन गरेर हेटौँडा कृषि बजार सञ्चालन गर्ने योजना छ ।