हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरभित्र रहेका सामुदायिक विद्यालयहरुमा जनप्रतिनिधिदेखि शिक्षकहरुको छोराछोरी पढिरहेका छन् । विगत केही वर्षदेखि जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर पढाइरहेका हुन् ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित घलानका छोरा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत् छन् । कक्षा ५ मा भर्ना भई जिसस प्रमुख घलानका छोरा अहिले कक्षा ७ मा अध्ययनरत् रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंले जानकारी दिनुभयो ।
हेटौंडा १ का वडा सदस्य ईश्वरी रसाइलीकी छोरा पनि आधुनिकमै कक्षा ९ मा अध्ययनरत् छन् । राक्सिराङ गाउँपालिका–५ का वडा अध्यक्षका छोरा पनि कक्षा ५ मा अध्ययनरत् रहेको प्रधानाध्यापक गुरागाईंले जानकारी दिनुभयो । हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापकले २०५६ सालमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक गुरागाईंले पनि यसअघि आफ्नो छोरीलाई सामुदायिक विद्यालयमा पढाउनुभएको बताउनुभयो ।
आधुनिक राष्ट्रिय माविमा अध्यापनरत अधिकांश शिक्षकहरुले आफ्ना छोराछोरीलाई सोही विद्यालयमा पढाइरहेका छन् । विद्यालयका शिक्षक रुपा दाहालकी छोरा कक्षा ८ मा, उमा ढुंगानाकी छोरी कक्षा ९ मा र पदमप्रसाद पौडेलका छोरी पनि कक्षा ९ मा अध्ययनरत् छन् । यसैगरी शिक्षक अभयकुमार कर्णका छोरी कक्षा–९ मा र लक्ष्मी खनालकी छोरा कक्षा–१० मा अध्ययनरत् छन् ।
विद्यालयको निजी स्रोततर्फ बालविकास केन्द्रकी सहयोगी माया लामाकी छोरी पनि कक्षा १ मा अध्ययनरत् छन् । विद्यालयमा ३५ जना दरबन्दीतर्फका शिक्षक र २८ जना निजी स्रोततर्फका शिक्षक रहेका छन् । दरबन्दीतर्फका अधिकांश शिक्षकका छोराछोरीले विद्यालय तह पूरा गरिसकेको र निजी स्रोततर्फका धेरै अविवाहित रहेको प्रधानाध्यापक गुरागाईंको भनाई छ । विद्यालयमा २ हजार ४ सय ८ जना विद्यार्थी अध्ययनरत् छन् ।
यस्तै, हेटौंडा–४ मै रहेको भूटनदेवी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक वेदराज कोइराला र भरत पोखरेलका छोरीहरु पनि सोही विद्यालयमै अध्ययनरत् रहेका छन् । कोइरालका छोरी कक्षा–८ मा र पोखरेलका छोरी कक्षा–९ मा अध्ययनरत् छन् । शिक्षक सरस्वती अधिकारीकी छोरी कक्षा–६ मा अध्ययनरत् छिन् । अधिकारीले यसअघि निजी विद्यालयमा छोरीलाई पढाउ“दै आउनुभएको थियो । चालु शैक्षिक सत्रदेखि अधिकारीले आफ्नो छोरीलाई आफू अध्यापनरत् सामुदायिक विद्यालयमै भर्ना गर्नुभएको हो ।
विद्यालयका शिक्षक श्याम बजागाईंका छोरी कक्षा १० मा र छोरा कक्षा ३ मा अध्ययनरत् रहेका छन् । शिक्षक संगीता गौतमकी छोरी कक्षा–९ मा र देवकी खतिवडाकी छोरी कक्षा–१० मा अध्ययनरत् रहेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भैरब कुमालका छोराछोरी भूटनदेवीकै कक्षा–९ मा अध्ययनरत् छन् । यस्तै, विद्यालयका कर्मचारी रामबहादुर गोलेका छोरी कक्षा ७ मा र छोरा कक्षा ३ मा अध्ययनरत् छन् । यसअघि विद्यालयका प्रधानाध्यापक माधव दाहाल र शिक्षक पुरुषोत्तम आचार्यका छोराछोरीले पनि भूटनदेवी माध्यमिक विद्यालयबाटै विद्यालय तह उत्तीर्ण गरेका थिए । विद्यालयका प्रधानाध्यापक दाहालले ५ वर्षभित्र सबै शिक्षकका छोराछोरी सबै सामुदायिक विद्यालय आउने दावी गर्नुभयो ।
यसैगरी, हेटौंडा–९ मा रहेको प्रगति माध्यमिक विद्यालयमा अध्यापनरत ५ जना शिक्षक तथा कर्मचारीहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुभएको छ । माध्यमिक संयोजक ज्योति न्यौपानेका छोरा कक्षा १ मा, सहायक निमावि शिक्षक दिनेश भण्डारीका छोरा कक्षा १० मा, कर्मचारीहरु नारायण पुडासैनीका छोराछोरी कक्षा ११ र १२ मा अध्ययनरत् छन् । संगीता न्यौपाने र रामप्रसाद अधिकारीका छोराछोरी कक्षा २ मा र नर्सरीमा अध्ययनरत् छन् ।
विद्यालयमा १२ जना प्रावि, ९ जना मावि, ८ जना निमावि, ६ जना निजी स्रोततर्फका शिक्षक तथा कर्मचारी रहेका छन् । विद्यालयबाट टाढा घर भएका शिक्षकका छोराछोरी भने नजिकै रहेका निजी विद्यालयमा अध्ययनरत् रहेको विद्यालयका प्रधानाध्यापक निरञ्जनप्रसाद ढकालले जानकारी दिनुभयो । विद्यालयको बस सेवा नभएका कारण साना बालबालिकालाई शिक्षकहरुले आफू अध्यापनरत् विद्यालयमा भर्ना गर्न नसकेको उहाँको भनाई छ । विद्यालयले आफू अध्यापनरत तथा कार्यरत विद्यालयमै भर्ना गराउने वातावरण निर्माण गरिरहेको उहाँले बताउनुभयो ।