फाईल तस्वीर ।

हेटौंडाः बागमती प्रदेश खेलकुद प्रतियोगिताको मिति सरेको छ । बैशाख २९ गतेदेखि हुने भनिएको प्रतियोगिता जेठ ७ गतेदेखि हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार कक्षा १२ को वार्षिक परीक्षा, बजेटको तयारी र हालै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएकोले पूर्वनिर्धारित मिति सार्नुपर्ने अवस्था आएको हो ।

परिषद्ले बुधबार प्रतियोगिताको मिति सार्ने निर्णय गरेको भण्डारीले जानकारी दिनुभएको छ । प्रदेश खेलकुद प्रतियोगिताको दोस्रो संस्करणमा १३ वटा खेल समावेश गरिँदैछ । पहिलो संस्करणमा फुटबल, भलिबल, एथ्लेटिक्स, बक्सिङ, व्याड्मिन्टन, कराते, तेक्वान्दोसहित ८ वटा खेल समावेश गरेको प्रदेश खेलकुदको दोस्रो संस्करणमा रग्बी, उसु, आइटीएफ तेक्वान्दो, पौडी र जुडो खेल थप गर्न लागेको सदस्य सचिव भण्डारीले बताउनुभएको छ ।

दोस्रो संस्करणको प्रतियोगिताका १३ खेल मध्ये मकवानपुरमा ११ वटा खेल हुनेछ भने चितवनमा क्रिकेट र काठमाडौंमा पौडी खेल हुनेछ । पहिलो संस्करणमा खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी गरी २ हजार २ सयको सहभागिता रहेको थियो भने दोस्रो संस्करणमा ४ हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन र समापन पिप्ले–क्याम्पा रंगशालामा हुने जानकारी दिनुहुँदै सदस्य सचिव सूर्यलाल भण्डारीले भन्नुभयो, “हामी पिप्ले–क्याम्पा रंगशाला, हुप्रचौर, वनविज्ञान अध्ययन संस्थानको खेल मैदान प्रयोग गर्ने तयारीमा छौं । पौडी काठमाडौंमा र चितवनमा क्रिकेट प्रतियोगिता आयोजना गर्नेछौं । गौरिटार रंगशालामा पनि कुनै खेल आयोजना गर्न सकिन्छ कि भनेर योजना बनाइरहेका छौं ।” प्रदेश खेलकुदका लागि परिषद्ले ९ करोड ६७ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।