तामाङ भाषा सम्बन्धी तालिम सहभागीहरुको तस्वीर ।

हेटौंडाः मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकामा विद्यालयका शिक्षकका लागि तामाङ भाषासम्बन्धी तालिमको आयोजना गरिएको छ । नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेश समितिको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा तालिम भएको हो ।

मंगलबारबाट सुरु भएको तालिम ५ दिन सञ्चालन हुनेछ । तामाङ बाहुल्य क्षेत्रका २७ विद्यालयका ३२ जना शिक्षकको तालिममा सहभागिता रहेको छ । स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रमअन्तर्गत शिक्षकहरुलाई तालिमको आयोजना गरिएको नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाबहादुर घलानले जानकारी दिनुभयो । विद्यालय तहमै भाषा कक्षा सञ्चालन गर्न तालिमको आयोजना गरिएको बताइएको छ । संघीयतापछि विद्यालय शिक्षालाई नै मातृभाषामा समेत कार्यान्वयन गर्ने भनिए पनि त्यसका लागि आवश्यक तयारी भने देखिँदैन । मकवानपुरका केही विद्यालयले मातृ भाषा शिक्षा सञ्चालन गर्ने प्रयास गरे पनि प्रभावकारी हुन सकेको छैन ।

पहिलो पटक विद्यालयका शिक्षकलाई तामाङ भाषासम्बन्धी प्रशिक्षणको आयोजना गरिएको जानकारी गराउनुहुँदै घेदुङका अध्यक्ष घलानले भन्नुभयो, “विद्यालयमा मातृभाषा सिकाउने र मातृभाषाबाटै औपचारिक शिक्षा प्रदान गर्न सके भाषाको संरक्षण हुनुका साथै औपचारिक शिक्षा पनि प्रभावकारी हुने अपेक्षा गरेका छौं ।” तालिममा तामाङ लिपिका बारेमा पनि जानकारी गराइनेछ । तालिममा प्रशिक्षकको रुपमा प्रतिक न्यासुर तामाङ र लिलाबहादुर स्याङ्तानले सहजीकरण गरिरहनुभएको छ ।

मंगलबार घलानको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, भाषा आयोगका पूर्वअध्यक्ष डा लवदेव अवस्थी, भाषाविद् डा. लोकबहादुर लोप्चन, नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङ, थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, शिक्षा अधिकृत माधव विक्रम मल्ल, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।