हेटौंडाः राक्सिराङ गाउँपालिकाका भूमिहीन चेपाङहरु भूस्वामित्वको अधिकार खोज्दै जिल्ला समन्वय समिति (जिसस)मा पुगेका छन् । राक्सिराङको तत्कालीन वडा नम्बर ५, ८ र ९ बाट वि.सं २०४७ सालमा हालको राक्सिराङ गाउँपालिका–३, घट्टेखोलामा सारिएका चेपाङ परिवार भूस्वामित्व खोज्दै जिसस मकवानपुरका पदाधिकारीसँग भेट गरेका हुन् ।
तत्कालिन जिल्ला विकास समिति (जिविस) मकवानपुर र प्रजा विकास कार्यक्रमको पहलमा स्थान्तरण गरिएका ९ घरधुरी चेपाङको परिवार संख्या २९ पुगेको छ । घट्टेखोलामा स्थानान्तरण गर्दा व्यक्तिको नम्बरी जग्गा सरकारी स्रोतबाट तत्कालीन जिविसको नाममा खरिद गरिएको थियो । घट्टेखोलामा बसोबास गर्दै आएका २९ घरधुरी चेपाङ परिवारले भोगचलन गर्दै आएको जमिनको लालपूर्जा आफ्नो नाममा कायम गरिदिन माग गरेका छन् ।
स्थानीय रामचन्द्र प्रजाको नेतृत्वमा भूमिहीन चेपाङ खाद्य अधिकार समूहको टोलीले जिसस मकवानपुर प्रमुख ललितबहादुर घलान र सहायक जिल्ला समन्वय अधिकारी सुनिताकुमारी गजुरेलसमक्ष माग गरेका छन् । सो अवसरमा जिसस प्रमुख घलानले घट्टेखोलाका भूमिहीन चेपाङको माग सम्बोधन गर्न जिससले जिल्ला र प्रदेशका सम्बन्धित निकायसँग आवश्यक सहजीकरण गर्ने जानकारी दिनुभयो ।
भूमिहीन चेपाङलाई जमिनको स्वामित्व उपलब्ध गराउन जिससको बोर्ड बैठकले निर्णय गरिसकेको भन्दै घलानले आवश्यक कागजपत्र जुटाउने क्रममा जिसस रहेको जानकारी दिनुभयो । फियान नेपालको प्रदेश संयोजक लक्ष्मी गुरुङको सहजीकरणमा भएको भेट कार्यक्रममा जिल्ला खाद्य अधिकार सञ्जालका सदस्यसहित भूमिहीन चेपाङ खाद्य अधिकार समूहका सदस्यहरुको उपस्थिति थियो ।










