फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर प्रहरीले सोमबार लागुऔषधसहित दुईजनालाई हेटौंडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिकाका रामबहादुर मोक्तान र भीमफेदी गाउँपालिकाका दिनेश लामा रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो ३ बजेर १० मिनेटको समयमा हेटौंडा–१ चौकिटोलस्थित प्रहरी चौकी अगाडि भैंसेबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १७८२ नम्बरको बसको सुरक्षाजाँच गर्ने क्रममा मकवानपुरको कैलाश गाउँपालिका–५, गोगनेका ४२ वर्षीय राम बहादुर मोक्तानको साथबाट लागुऔषध गाँजा २ केजी ९०० ग्राम बरामद भएको प्रहरीले जनाएको छ । मादक पदार्थ समेत सेवन गरेका मोक्तानले बसको क्याबिनमा राखी ल्याएको झोला जाँच गर्ने क्रममा लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै सोमबार साँझ ५ बजेर ३० बजेको समयमा हेटौंडा–१०, भुटनदेवीस्थित विद्युत प्राधिकरण अगाडि विशेष सूचनाको आधारमा भीमफेदी गाउँपालिका–४, निबुवाटारका २९ वर्षीय दिनेश लामालाई लागुऔषध ओनरेक्स ८ बोतल (प्रतिबोतल १०० मिलिलिटर) सहित पक्राउ गरेको छ । प्रहरीले मोक्तान र लामा दुबैजनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जनाएको छ ।