हेटौंडाः नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा लेखा र लेखापरीक्षणको स्थलगत अनुगमन गरेको छ । लेखा तथा लेखापरीक्षणमा देखिएका बेथितिलाई सुधार गर्न अनुगमन गरिएको बताइएको छ ।
लेखा तथा लेखापरीक्षणमा पूर्णरुपमा ज्ञान नभएका करसेवा सहयोगीहरुबाट लेखापरीक्षण गरी लेखापरीक्षकहरुलाई आर्थिक प्रभावमा पारी दस्तखत गराई युडिन नम्बर समेतको दुरुपयोग गरेको पाइएको अनुगमनमा सहभागी एक अधिकारीले बताएका छन् । व्यवसायीको लेखा राख्ने र वित्तीय विवरण बनाई दिने जिम्मेवारी लिएर थिति, विधिविपरित काम भइरहेकोप्रति लेखापरीक्षकलाई सचेत गराउने कार्य समेत भएको छ ।
चार्टर्ड एकाउन्टेन्ट हेम कुमार काफ्लेको नेतृत्वमा सिए दिवाकर गिरी समेतको ४ सदस्यीय अनुगमन टोलीले सोमबार मकवानपुर जिल्लाका विभिन्न कर सहयोगीहरुले संचालन गरेका गैर लेखापरीक्षण फर्महरुको अनुगमन र आन्तरिक राजश्व कार्यालय हेटौंडामा समेत सो बारे छलफल गरेको छ । अनुगमन टोलीले मंगलबार चितवन र कावासोती समेतका गैर लेखापरीक्षक फर्म र त्यस्ता गैर लेखापरीक्षकहरुसँग संलग्न भई लेखापरीक्षण प्रतिवेदनमा दस्तखत गर्ने लेखापरीक्षकहरुको तथ्यांक संकलन गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको आचारसंहिता विपरित काम गर्ने लेखापरीक्षकहरुलाई अनुशासनको कार्वाही हुने व्यहोरा पनि जानकारी गराइएको छ ।