हेटौंडाः हेटौंडा–९, लामसुरेधापमा रहेको मानवसेवा आश्रममा आश्रित एक सय ६ जना मनोरोगीको स्वास्थ्य परीक्षण गरिएको छ । बिहीबार मनोचिकित्सा डा. गिरीराज भन्तनाले मनोरोगबाट ग्रस्त आश्रितको स्वास्थ्य परीक्षण गर्नुभएको हो ।
दैनिक मनोरोगको औषधि सेवन गर्दै आउनुभएका आश्रममा आश्रित आमाबाबुको प्रत्येक महिना स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले औषधिको डोज बढाउने र घटाउने गर्नुपर्ने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको बताउनुभयो ।
आश्रममा आश्रित मनोरोगी आमाबाबुका लागि मासिक २ लाख रुपैयाँ औषधि खर्च लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । प्रायः आश्रमले नै औषधि खर्च जुटाउँदै आइरहेको उहाँको भनाई छ । आश्रममा २ सय जना आश्रित हुनुहुन्छ । जसमा २ जना एचआईभी रोगबाट पीडित हुनुहुन्छ भने ८ जना अशक्त हुनुहुन्छ ।