हेटौंडाः हेटौंडा अस्पतालमा कोरोना संक्रमण भए – नभएको जाँच गर्न आउनेको संख्या बढेको छ । अस्पतालमा बैशाखबाट कोरोनाको जाँच गराउन आउनेको संख्या बढेको हो ।
पछिल्ला दिनहरुमा मानिसले मास्कको प्रयोग गर्न कम गरेका र जमघट धेरै भएका कारण कोरोना बढ्दै गएको अस्पतालका मेडिकल प्रयोगशाला प्राविधिक प्रशान्त झाले बताउनुभयो । कोरोना भाइसर संक्रमण बढ्दै गएपछि अस्पतालमा परीक्षण गराउन आउनेको संख्या पनि बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।
हेटौंडा अस्पतालमा एक दिन बिराएर कोरोना भाइरस संक्रमण परीक्षणको नमुना जाँच हुने गरेको छ । मानिसहरु दिनहुँ कोरोना जाँच गर्न आउने गरेका छन् । परीक्षण गराएकामध्ये दैनिक ६—७ जनासम्म कोरोना पोजेटिभ देखिने गरेको झाले बताउनुभयो । कोरोना खोपको बुस्टर डोज लगाएका मानिस पनि जाँच गर्न आउने गरेको झाले बताउनुभयो ।
अस्पतालमा कोरोना परीक्षणका लागि आउने संख्या बढेसँगै मकवानपुरमा कोरोना संक्रमण बढ्दै गएको छ । बुधबार अस्पतालमा ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जना कोरोना संक्रमित भेटिएको उहाँले जानकारी दिनुभयो ।