हेटौंडा सिमेन्ट उद्योगमा मजदुरले काम गर्ने क्रममा भौतिक दुरी कायम गरे, नगरेको अनुगमन गर्दै ।

हेटौंडाः लकडाउनका बाबजुद सञ्चालन भइरहेका उद्योगहरुको सोमबार अनुगमन गरिएको छ । सरकारले निर्धारण गरेको मापदण्डअनुसार स्वास्थ्य सतर्कता अपनाए, नअपनाएको तथा उद्योगका समस्याका बारेमा बुझ्न घरेलु तथा साना उद्योग कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघले उद्योगहरुको अनुगमन गरेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने र सशस्त्र प्रहरी बलको औद्यँेगिक सुरक्षा इकाईका प्रहरी नायव उपरीक्षक विनोद खतिवडाले हेटौंडाका तीनवटा सिमेन्ट उद्योगको अनुगमन गरेको छ । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगसँगै निजी क्षेत्रको रिद्धिसिद्ध सिमेन्ट उद्योग र शिवम् सिमेन्ट उद्योगको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कर्मचारी तथा मजदुरको व्यवस्थापन, भौतिक दुरि कायम भए, नभएको बारे पनि छलफल गरिएको थियो ।

हेटौंडा–१५, चुरियामाईस्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगमा कोइला लिएर आएको ट्रक प्रवेश गर्नुअघि डिस–इन्फेक्सन गर्ने कार्य गर्दै सुरक्षागार्ड ।

उद्योग परिसरमा मालबाहक सवारी साधन, चालक, सहचालक, सरोकारवालाको आवतजावतका बेला डिस–इन्फेक्सन छर्कने गरे, नगरेको, कर्मचारी, मजदुरको आवासीय व्यवस्था तथा ज्वरोमापनको कार्य भए नभएको हेरिएको थियो । तीनवटै सिमेन्ट उद्योगले सतर्कता अपनाएको पाइएको थियो भने शिवम् सिमेन्ट उद्योगमा सवारी साधन, मजदुर र सवारी चालक, सहचालकको उपस्थिति बढी देखिएको थियो ।

यस्तै मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष गणेश भेटवाल, सचिव विष्णुगोपाल महर्जन, सदस्यहरु शान्तिराम धिमाल, दीपक उप्रेती र राजाराम कार्की सम्मिलित समूहले हेटौंडा औद्योगिक क्षेत्रस्थित उद्योगहरुको अनुगमन गरेको छ । संघका पदाधिकारीको समूहले हेटौंडा औद्योगिक क्षेत्रस्थित खाद्य संस्थान, एन्टार्टिक विस्कुट उद्योग, मैदा उद्योग, यति पेन्ट्स लगायतका उद्योगको अनुगमन गरेको छ । संघका उपाध्यक्ष भेटवालका अनुसार सरकारले उद्योग सञ्चालन गर्न प्रेरित गरिरहेका बेला उद्योगका मजदुरलाई काममा फर्काउन कठिनाई भइरहेको उल्लेख गर्नुभयो ।

सरकारले सार्वजनिक विदा घोषणा गरेसँगै मजदुरहरुले स्वास्थ्यको जोखिम औँल्याउँदै अतिरिक्त सुविधा भए मात्रै काममा आउने बताउँदा उद्योगी चिन्तित भएको उपाध्यक्ष भेटवालले जानकारी दिनुभयो । उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात गर्न, उत्पादन निर्यात गर्न भन्सार र ढुवानीमा पनि समस्या भइरहेको उद्योगीको गुनासो छ ।